काठमाडौं- पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा आफूहरूले पोर्चुगलको कास्काइसमा पाँच सन्तानको उपस्थितिमा निजी रूपमा विवाह गरेको पुष्टि गरेका हुन्।
यद्यपि, उनीहरूले विवाह भएको वास्तविक स्थान भने सार्वजनिक गरेका छैनन्। रोनाल्डोको निजी निवासमा विवाह भएको हुन सक्ने अनुमान गरिएको छ। विवाह निजी राख्न र सञ्चारमाध्यम तथा क्यामेराबाट टाढा रहन रोनाल्डोको आफ्नै निवास रोजिएको हुन सक्ने बताइएको छ।
रोनाल्डो र जर्जिनाको विवाह उनीहरूको प्रेम सम्बन्धको अर्को महत्वपूर्ण चरणका रूपमा आएको हो। जर्जिनाले सन् २०२५ को अगस्ट ११ मै सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग आफ्नो विवाह तय भएको सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनीहरूका समर्थक विवाहको मिति र स्थानबारे जानकारीको प्रतीक्षामा थिए। रोनाल्डोले यसअघि विश्वकपपछि विवाह गर्ने इच्छा रहेको बताएका थिए। तर उनले निश्चित मिति सार्वजनिक गरेका थिएनन्। त्यसपछि विवाहको सम्भावित मितिलाई लिएर विभिन्न अनुमान हुन थालेका थिए।
सन् २०२६ को अगस्ट महिनाका पहिलो दुई शनिबारलाई समेत सम्भावित विवाहको मितिका रूपमा हेरिएको थियो। विवाह कहाँ हुने भन्ने विषयमा पनि विभिन्न अनुमान सार्वजनिक भए।
विवाहसम्बन्धी हल्ला यति धेरै फैलिएको थियो कि केही समर्थक रोनाल्डो र जर्जिनाको विवाह भएको अनुमान गरिएको एउटा समारोहस्थल नजिकैसमेत पुगेका थिए। पछि उक्त समारोह रोनाल्डो तथा जर्जिनासँग कुनै सम्बन्ध नभएको खुलेको थियो।
रोनाल्डो र जर्जिनाले भने अन्ततः अगस्ट ११ मा आफ्नो विवाह भएको पुष्टि गरेका छन्।