काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा बिहीबार शुभकामना दिदै प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिएका हुन् ।
हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ ।
प्रधानमन्त्री ओलीले जनसङ्ख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग आग्रह गरे ।
सन्देशमा भनिएको छ, “नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसङ्ख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयुमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ । यस अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ ।”
उनले सन्देशमा बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै उहाँले शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गरे ।
ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको जनाए ।
“कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ । बालविवाहजस्तो विकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयासहरु भइरहेका छन्, कुनै पनि प्रक्रियाबाट हुने गरेका बालविवाहको रोकथामका लागि वर्तमान सरकार कटिबद्ध छ ।” सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले सरकार किशोरकिशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय उमेर समूहका जनशक्तिले अतिकतम योगदान पुर्याउन सक्ने वातावरण बनाउन तल्लीन रहेको पनि स्पष्ट पारे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४