काठमाडौं - टीकापुर घटनामा जिल्ला अदालत कैलालीबाट जन्मकैदको सजाय पाएका सांसद रेशम चौधरी जेल जीवन विताउँदै छन्।
काठमाडौंस्थित डिल्लीबजार जेलमा रहेको उनको केही दिनयता बीर अस्पतालमा उपचार हुँदैछ। उनलाई उपचारको क्रममा खुट्टामा नेल लगाइएको थियो। जसको विरोध भएपछि सरकारले तत्कालै नेल हटाएको थियो।
बीर अस्पतालबाट सोमबार डिस्चार्ज हुन लागेका सांसद चौधरीले नेपालसमयसँग संक्षिप्त कुराकानी गर्दै भने,‘जिल्ला अदालतबाट फैसला भएको केस अहिले उच्च अदालतमा छ। म निर्दोश मान्छेलाई फसाउने काम भएको छ। अदालतको सय पेजभन्दा बढी लामो फैसलामा सबै ठाउँमा निर्दोष छु तर अन्तिममा मेरो नाम जोडिएको छ। र, दोषी करार गरिएको छ।’
सरकारले आफूमाथि लगाएको मुद्दा फिर्ता नलिए पछताउनु पर्ने दाबी गर्दै सांसद चौधरीले भने,‘केपी ओली ज्यूको नेतृत्वमा दुई तिहाईको सरकार छ। उट्पट्याङ्ग तरिकाले गुठी विधेयक ल्याएपछि नेवारहरु सामु ओली सरकार झुक्नु पर्यो। टीकापुर घटनाका दोषीहरुमाथि लगाइएको मुद्दा फिर्ता भएन भने फेरि ओली सरकार झुक्नु पर्नेछ।’
मुद्दा फिर्ता लिने समय अझै बाँकी रहेको बताउँदै सांसद चौधरीले भने,‘लोकतन्त्र जनताले ल्याएको हो। लोकतन्त्रमा भइरहेको यो अन्यायलाई जनताले धेरै दिन नजरअन्दाज गर्न सक्दैन। फेरि ठूलो आन्दोलनको आँधिबेहरी आउनेछ। र, त्यसबेला ओली सरकारको हातमा केही रहने छैन। त्यसकारण म भन्छु बेलैमा सरकारले मुद्दा फिर्ता लियोस्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४