काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफदेहिता विनाको स्वतन्त्रता अराजकतामा परिणत हुने बताएका छन्। नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास कार्यक्रममा डा. खतिवडाले भने, ‘राष्ट्र बैंक स्वायत्त निकाय हो, तर जवाफदेहिता विनाको स्वतन्त्रता अराजकतामा परिणत हुन्छ।’
अर्थमन्त्री डा. खतिवडाले स्वायत्ततामा रहेर केन्द्रीय बैंकले अन्य बैंक तथा वित्तीय संस्था मात्र नभएर सम्पूर्ण वित्तीय क्षेत्रको नै अभिभावकत्व ग्रहण गरी सोहीअनुसार अघि बढ्नुपर्ने बताए।
उनले समग्र वित्तीय प्रणालीमै बैंकिङ प्रणालीको आधिपत्य भएको भन्दै बैंकिङ प्रणाली ठिक भएन भने बिमा, धितोपत्र बजार, सहकारीमा पनि नकारात्मक असर पर्ने बताए।
उनले राष्ट्र बैंकसँगै नेपालको आर्थिक क्षेत्र पनि पुनर्निर्माण चरणमा रहेको बताउँदै नेपाल आकर्षक लगानीको गन्तव्य बनाउनुपर्ने धारणा राखे। अब बिस्तारै नगद करोबारमा आधारित बैंकिङ प्रणालीलाई बिस्तारै विद्युतीय कारोबार प्रणालीमा बदल्नुपर्ने उनले बताए।
उनले नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै राम्रो रहेको बताउँदै खराब कर्जा पनि दक्षिण एसियामै कम भएको दाबी गरे। उनले भने, ‘हामी आर्थिक क्षेत्रको पनि पुनर्निर्माणको चरणमा छौं। विदेशी लगानी भित्र्याउनु र व्यापारघाटा कम गर्नु बाह्य क्षेत्रको चुनौती हो। यसलाई बिस्तारै नीतिनियम र कार्यान्वयनको प्रक्रिया परिवर्तन गरेर पुनर्निर्माण गर्नुपर्छ।’
कार्यक्रममा गभर्नर डा. चिरञ्न्जीवी नेपालले असार २२ गतेसम्ममा ७३० वटा स्थानीय तहमा थप बैंकका शाखा पुगेको जानकारी दिए। उनले खाता संख्या पनि २ करोड ७३ लाख पुगेको बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले राष्ट्र बैंकको भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइने भन्दै सम्पूर्ण रुपले सुरक्षित हुने दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४