काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले भारतको दबाबका कारण सरकाले तरकारीको विषदी परिक्षण नगरेको विषयलाई मुख्य समाचारमा बनाएका छन् ।
सिमा नाकामा विषादी परिक्षण नगरेपछि सरकारको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकमा सांसद्हरुले सरकार भारतसामु झुकेको भन्दै चर्को आलोचना गरेका थिए ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले सरकार भारतसामु झुकेकै हो ? शीर्षकमा खबर लेखेको छ ।
भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतीय सरकारसामु झुकेको भन्दै सत्तारूढ दलकै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरूले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताएका छन् ।
प्रधानमन्त्री ओली भने सांसदहरूको आलोचनाप्रति आक्रोशित बनेका थिए । उनले फौजी सिपाहीले जस्तै सरकारको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशनसमेत दिएको कान्तिपुरले लेखेको छ ।
अन्नपूर्ण पोस्ट्ले पनि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारी निर्णयको चौतर्फी विरोध भएको विषयलाई मुख्य समाचार बनाएको छ ।
नेपाली कृषिजन्य वस्तु निर्यातकर्ता व्यवसायी र उपभोक्ताले सरकारको पछिल्लो निर्णयको विरोध गरेका छन्। नेपाली अदुवा उत्पादक तथा व्यवसायी संघ, अलैंची व्यवसायी महासंघ, जडीबुटी उत्पादक महासंघ, कफी उत्पादक संघ, चिया व्यवसायी संघ र अर्गा्निक उत्पादक संघले सरकारको निर्णयप्रति विरोध जनाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने विषादी परिक्षण नगर्ने निर्णय भारतको दबाबले नभई तयारी नपुगेकाले तत्कालका लागि बन्द गरिएको दाबी गरेका छन् । उनले थप तयारी पछि पुन परिक्षणको काम सुरु गर्ने बताएको अन्नपूर्णले लेखेको छ ।
यस्तै अन्नपूर्णले केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन्।
यस क्रममा दुवै पक्षका नेताले शनिबार आफ्ना गुटसँग छलफल गरेका थिए। केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले भने भारतले नाकामै रोक्छ नेपाली तरकारी शीर्षकमा मुख्य समाचार छापेको छ । नमुना बोकेर कोलकत्ता, पटना र लखनउ पुग्दा नाकामै नेपाली तरकारी र जडीबुटी कुहिने गरेको समाचारमा उल्लेख छ ।
यस्तै नयाँ पत्रिकाले विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्न लागेको समाचारमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४