काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले विषादीयुक्त भारतीय फलफूललाई परीक्षण बिनै नेपाल भित्र्याउन दिने निर्णय किन गरेको भन्दै प्रश्न उठाएको छ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रन्जित तामाङले शनिबार एक विज्ञप्ति निकाल्दै भारतबाट आयातित विषाक्त फलफुल र तरकारी परीक्षण बिनै नेपाल ल्याउन दिने सरकारी निर्णयप्रति संगठनको ध्यानकर्षण भएको जनाएका छन्।
सरकारले यसअघि गरेको निर्णय कार्यान्यवन प्रक्रियामा जान थालिसकेको अवस्थामा एकाएक निर्णय उल्टाइनु दुःखद भएको तामाङले बताएका छन्। ‘यसबाट सरकार र सरकारका निकायहरु प्रत्यक्ष वा परोक्ष रुपमा कतै अनुचित विदेशी दवाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ,’ तामाङले विज्ञप्तीमार्फत् प्रश्न गरेका छन्।
तामाङले शक्ति केन्द्रहरुको अनुचित दवाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सिमा क्षेत्रमा परिक्षण गरेर मात्र प्रवेश गराउने पुर्ववतः निर्णयमा अडिग रहन सरकार र सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन्।
विज्ञप्तीमा सरकारको यो पछिल्लो निर्णय नेपालको संविधानको धारा ३६ को खाद्य सम्वन्धी मौलिक हकको समेत मर्म विपरीत रहेको उल्लेख गरिएको छ।
सरकारले असार महिनाबाट लागू हुनेगरी भन्सार क्षेत्रमा विदेशवाट आयतित फलफूल तथा तरकारीमा जीवनाशक विषादी अवशेष परिक्षण गर्ने र विषादी देखिएमा रोक लगाउने निर्णय गरेको भए पनि भारतीय दूतावासको दवाबमा निर्णय फिर्ता लिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४