काठमाडौं- नेपाली कांग्रेसका युवा नेताहरुले संविधान र लोकतन्त्र विरोधी सरकारका काम कारवाहीको सशक्त प्रतिकार गर्दै राष्ट्रहितको पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा युवा नेताहरुले गुट उपगुट र आन्तरिक विवादमा अल्झिदा कांग्रेसले सही ढंगले जनता र राष्ट्रप्रतिको भूमिका निर्वाह गर्न नसकेको भन्दै संगठनलाई सुदृढ बनाई राष्ट्रहितमा एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा पार्टी सुदृढीकरणको साथै लोकतन्त्र र संविधान विपरित सरकारका निर्णयको प्रतिकारका लागि ठोस कार्यनीति बनाउनुपर्नेमा उनीहरुले जोड दिए।
केन्द्रीय सदस्य धनराज गुरुङले सरकार देश र जनताका लागि नभई छिमकी राष्ट्रलाई खुसी बनाउन लागि परेकाले मुलुकको अश्मिता, राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि कांग्रेस टुलुटुलु हेरेर बस्न नहुने धारणा राखे।
केन्द्रीय सदस्य शंकर भण्डारीले दुई तिहाईको बलमा सरकारले लोकतान्त्रिक विधि, पद्धति, संस्कृति, राष्ट्रिय एकता र सद्भावविरुद्ध राष्ट्रिय स्वाधिनतालाई उपहास गर्ने काम गरेकाले राष्ट्रिय स्वाधिनता र अखण्डताको पक्षमा काग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले भारतबाट आयातित तरकारी तथा फलफुलको विषाधी परीक्षण नगर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको भन्दै खेद व्यक्त गरे।
नेताहरु रामकृष्ण यादव र श्याम घिमिरेले संविधान अनुसार वडादेखि क्षेत्रीय समिति सम्मलाई पूर्णता दिएर महाधिवेशनमा गई पार्टीलाई सशक्त र सुदृढ बनाउनुपर्नेमा जोड दिए।
नेता धनराज गुरुङले पार्टी नेतृत्वले त्याग र सदाचारको मार्गदर्शन भुलेकाले युवाहरु नेतृत्वका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए।
आइतबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४