काठमाडौं- सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले बिहीबार ‘मिसिल झिकाउने’ आदेश जारी गरेको हो।
सर्वोच्च अदालतमा उक्त दाइजोसम्बन्धी विवादमा यसअघि दुई पटक सुनुवाइ भएर टुङ्गिएको थियो। सो विषयमा पुनः तेस्रो पटक सुनुवाइ हुने भएको हो।
प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक २०७१ साल माघ २५ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिइन्।
तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो।
नेपाल ट्रष्टको कार्यालयले उक्त फैसलाको चित्त नबुझेपछि पुनरावलोकन निवेदन हालेको थियो।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको इजलासले पूर्व राजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै सो सम्पति नेपाल ट्रष्टको भएको फैसला गरेको थियो।
आफ्नो दाइजो भएको दाबी गर्दै सो फैसलामा चित नबुझेपछि प्रेरणाले सर्वोच्च अदालतमा पुनः पुनरावलोकन निवेदन दायर गरेकी थिइन्।
अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४