काठमाडौं - प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको गतिविधिविरुद्ध सक्रिय हुन प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशमा सर्कुलर जारी गरेको छ।
कांग्रेसले सातै प्रदेशका संसदीय दलका नेतालाई सर्कुलर जारी गर्दै केन्द्रीय सरकारको गतिविधिविरुद्ध सक्रिय रुपमा उत्रन निर्देशन दिएको हो।
संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार यसै साता जारी गरिएको सर्कुलरमा संसदमा आएका विधेयकहरुको विरोधमा प्रदर्शन गर्न भनिएको छ।
केन्द्र सरकारले ल्याएको गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय सुरक्षा परिषद्लगायतका विधेयकको विरोध संविधानको मर्मविपरीत भएकाले प्रदेशहरुबाट पनि सक्रिय विरोध हुने खाणले बताए।
प्रदेशमा छलफल गरी संविधानको भावनाविपरीत आएका विरोधहरुको विरोध गर्न र जनतालाई सुचित गर्न सर्कुलर जारी भएको खानले जानकारी दिए।
प्रदेश २ को कांग्रेसको संसदीय दलका नेता रामकृष्ण यादवले नेपाल समयसँग भने, ‘केन्द्रबाट सर्कुर भएको छ। हामीले ती विधेयकहरुको विरोध गर्दै आएका छौं। हामीले विरोधलाई निरन्तरता दिनेछौं।’
प्रदेश २ को सरकारले ल्याएको मिडिया विधेयकको विरोध गरेको उनले बताए।
‘संविधानविरुद्ध हुने कामको विरोध कांग्रेसले सशक्त रुपमा गर्नेछ। देशमा दुई तिहाईले अधिनायकवाद लाद्न सक्दैन’, नेता यादवले भने, ‘केन्द्रको सर्कुलरबमोजिम हामीले जनतासमक्ष आफ्ना कुरा राख्दैछौं। संविधानविरोधी कानुन बन्न दिँदैनौं।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४