काठमाडौं – प्रधानमन्त्री केपी ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता व्यक्त गरे।
‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो। ‘देशका लागि राम्रो र फाइदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन।’
उनले छलफलको क्रममै रहेकोे सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनि फर्मान जारी गर्ने काम संसदीय समितिले गरेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो। संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४