काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन्।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पारे।
तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताए। उनले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गरे। उनले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यंग्य गरे।
बास्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए।
उनले भने “लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाहीँ के छ ? अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा सुरु भएको। अब झिकिदिउँ भने फेरी अर्थ्योकै पर्ला भनेर कायम राखेको। तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन। किनभने डबल पर्न जान्छ। डबल गर्न सकिदैन। ”
संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए। उनले संसद भित्र छलफल नै नगरि संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४