काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुरले बालुवाटारको जग्गामा करोडौंको चलखेल भएको खुलासा रहेको छ । बालुवाटार जग्गामा लेनदेन शीर्षकमा मुख्य समाचार छापेको उसले भूमाफिया शोभाकान्त ढकाल र उनकी भान्जीबुहारी शान्ता खनालबीचको लेनदेन विवादको अडियोबाट नयाँ रहस्य खुलेको हो ।
बालुवाटारको २ सय ९९ रोपनी जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गर्ने योजनाकार शोभाकान्त ढकालले जग्गा मिलाउने क्रममा ठूलो रकम खर्च भएको खुलासा गरेका हुन् ।
नातेदारसँगको लेनदेन विवादका क्रममा रेकर्ड भएर हाल सर्वोच्च अदालत पुगेको अडियोमा उनले आफूले सापटी लिएको रकमसमेत त्यहि जग्गा मिलाउन खर्च भएको बताएका छन् । उनले भाटभटेनीका संचालक मीनबहादुर गुरुङसँग ३ करोड ६१ लाख रुपैयाँ लिएको समेत खुलाएको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले मनाङे प्रवेशको नेकपा भित्रै विरोध भएको विषयलाई पनि महत्वका साथ छापेको छ । मनाङे बिहीबार नेकपामा प्रवेश गरेका थिए । उनी प्रदेशसभा सदस्यसमेत हुन् ।
आजको अन्नपूर्णले भने सरकारले महँगा गाडी आयातमा कडाइ गरेको विषयलाई मुख्य समाचार बनाएको छ । निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको हो ।
व्यापार घाटा उच्च विन्दुमा पुगेका कारण शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत यस्तो रणनीति अपनाउन लागेको छ। शोधनान्तर घाटा बढ्दै गएपछि ४५ लाख रुपैयाँभन्दा माथिका निजी सवारीसाधन आयातमा ‘ट्रस्ट रिसिट लोन’ रोक्ने तयारीमा राष्ट्र बैंक जुटेको उच्च स्रोतले बतायो।
कर्जामा कडाइ गर्नेबित्तिकै सवारीसाधन आयातकर्ताले तोकिएको सीमाभन्दा बढी ऋण नपाउने भएका छन् ।
यस्तै अन्नपूर्णले प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन्। उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको समाचारमा उल्लेख छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सछुवान (सिचुवान) मा थिए। मुख्यमन्त्रीहरूले चिनियाँ अधिकारीसँग गरेको वार्ताबारे कूटनीतिक निकाय बेखबर छ।
यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई सोमबार साँझ अमेरिका गएका छन्। अमेरिकाको बाल्टिमोरमा तीनदिन चल्ने गैरआवासीय नेपालीले गर्ने राष्ट्रिय नेपाली सम्मेलनको प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री राई त्यसतर्फ गएको समाचारमा उल्लेख छ।
आजको नागरिक दैनिकले भने काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँ बढाउने तयारी भएको विषयलाई मुख्य समाचार बनाएको छ ।
भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो।
अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ पु(याइएको छ। यो दुई वर्षअघिको डिपिआरको तुलनामा ५६ प्रतिशतभन्दा बढी हो।
आयोजना बनाउने जिम्मा पाएको नेपाली सेनाले भारतीय कम्पनीले पहिले तयार गरेको डिपिआर स्वीकार गरेको छैन।
भारतीय कम्पनीले डिपिआरको लागत ६१ करोड रुपैयाँ तोकेपछि सेनाले धेरै भएको भन्दै कोरियन कम्पनीलाई पुनः डिपिआर तयार पार्न लगाएको थियो। कोरियन कम्पनीले दु्रतमार्गको डिपिआर १० करोड रुपैयाँमा सेनालाई उपलब्ध गराएको हो।
भारतीय कम्पनीले भन्दा कोरियन कम्पनीले डिपिआर बनाउने रकम कम लिएको देखाउने तर आयोजनाको लागत ५६ प्रतिशतले बढाउने कार्यलाई शंकाको दृष्टिले हेर्न थालिएको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४