काठमाडौं- आगामी असार २२ गते बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा असन्तुष्ट पक्षले भेला आयोजना गरेर दबाब दिने रणनीति बनाएपछि संस्थापन पक्षले बैठकका एजेण्डा सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संगठनलाई थप सुदृढ र सबल बनाउन आगामी केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्ने बताएका छन्। केन्द्रीय समिति बैठक अघि गुटगत सक्रियता बढेपछि पार्टीको संस्थापन पक्षले बिहीबार विज्ञप्ति निकालेर भ्रम छर्ने प्रयास कतैबाट नगर्न सचेत गराएको छ।
पार्टी प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा पार्टी संरचनाहरु निर्माण गर्ने सम्बन्धमा संविधान र संसोधित विधानअनुसार ठोस निर्णय हुने उल्लेख छ। शर्माका अनुसार आगामी असार २२ गते बोलाइएको बैठकमा विधान कार्यान्वयनको लागि गठित नियमावली संसोधन समितिले आफ्नो प्रतिवेदन पेस गर्ने छ।
गत मंगलबार गोंगबुमा रामचन्द्र पौडेलको अगुवाइमा असन्तुष्ट पक्षको भेला भएको थियो। बैठकमा विधान कार्यान्वयनमा नेतृत्व उदासिन देखिएको पार्टीको संरचनाहरु निर्माण नगरिँदा पार्टीको आन्तरिक जीवनमा आघात पुगेको, भातृ संस्थाहरु विघटन गरेर लथालिंग पारेको, महाधिवेशनका लागि कुनै तयारी नथालिएको भन्दै अधिकांश सहभागिले नेतृत्वको आलोचना गरेका थिए।
