काठमाडौं- सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको समूह संगठित आतंकवादी समूह भएको बताएका छन्।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लब समूह आतंकवादी समूह नै भएको ठोकुवा गरेका हुन्। विप्लबका क्रियाकलाप जनतामा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी उनले गरे।
उनले भने, ‘कुरा क्रान्तिकारी, परिणाम दक्षिण पन्थीहरुलाई टेवा पुर्याउने हो उहाँहरुको। दक्षिण पन्थीहरुको सेवा गरिरहेको छ विप्लब भन्ने आतंककारी समूहले। यो आतंकारी नै हो। अपराधिक नै हो संगठित रुपमा।’
उनले सरकारले बार्ता आव्हान गर्दा गर्दै अस्वीकार गरी हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी गरे।
उनले भने, ‘उहाँहरु जम्माजम्मी उपयोगिता वादी हो, अराजकतावादी हो, लुटेरा समूह हो। क्रमश संगठित आतंकवाद हो। सामाजिक फाँसीवाद पनि हो। त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन। चुनाव लड्ने हुती छैन। कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरेर मान्छेलाई दिनहुँ त्रसाएर के हुन्छ ? त्यसकारण सरकार तर्सदैन।’
सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विप्लब समूहले नै वार्तालाई अस्वीकार गरी भागेको टिप्पणी गरे।
उनले भने, ‘हामीले वार्ता पनि गर्यौ। वार्तालाई उहाँहरुले रुचाउनुभएन। अनुचित कार्य गर्दे हिड्नुभयो। गैरसंबैधानिक कार्य गर्दे हिड्नुभयो। त्यसो भएपछि नियन्त्रणमा लिने, निस्तेज गर्ने सरकारको काम हो। त्यसैले बल प्रयोग गरेको छैन सरकारले। उहाँहरुलाई फेरी पनि अनुरोध छ। हिंसाको उन्माद र रक्तपिपाशु मानसिकता नेपाली समाजले अस्वीकार गरेको छ है। थाहा पाउनु पर्यो। यो लुटपाटको धन्दा, आतंकको धन्दा जारी राखेमा। क्षति व्यहोर्ने उहाँहरुले नै हो। हाम्रो अनुरोध छ। क्षति तर्फ नजाऊँ समय छ। आउनुहोस् छलफल गरौँ।’
जनताको अधिकार प्राप्तीका लागि आवश्यक परिर्वतन भईसकेको भन्दै उनले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई जनताले स्वीकार नगर्ने चेतावनी दिए।
उनले भने, ‘व्यक्ति व्यक्तिका अधिकार के के चाहिएको हो ? त्यो मनोगत आकाक्षाले हुदैन। जनता सहमत हुनुपर्छ। जनताले हिंसालाई अस्वीकार गरेको हो। क्रान्तिको नाममा स्कुल बन्द ? वितण्डा। वितण्डा हो नि यो बाँकी के हो ? कुहिरी मण्डलमा हिँडेर आफै अरुलाई भ्रम पर्या छ भनठान्नु हुदैन।’
उनले दुई तिहाईको सरकार त्यत्तिकै नआएको र सरकारलाई के गर्नुपर्छ भन्ने राम्रो हेक्का भएको बताए।
उनले भने, ‘दुई तिहाईको सरकार सिमको भुवा होइन। यसो खस्ने कता जाने कता जाने टुंगो नभएको।’
उनले संगठित आतंककवाद तर्फ उन्मुख विप्लब समूहका क्रियाकलावलाई सरकारले छुट नदिने स्पष्ट पारे।
उनले भने, ‘वार्तामा नआउने, दाउपेच गर्दै आफूहरुमाथि निगरानी छोड् भनिरहने, आफ्नो धन्दा गरिरहने हिंसाको निम्ति वातावरण तयार गरिरहने, धम्काउने, कमिसन माग्ने, ठेक्का पट्टा आदिलाई त्राहीमाम बनाउने, यो जंगली राज त चल्दैन। यो जंगली राजलाई छुट दिन सकिन्न। उहाँहरुले निर्दोष मान्छे मारेको क्रान्तिका लागि। कोही झुक्किएर परे भने, नियन्त्रणमा लिन खोज्दा खोज्दै भन्दा त्यो चाही दमन ? त्यो हुदैन। सङ्लेको वातावरण धमिल्याएर कसको सेवामा लाग्दै हुनुहुन्छ ? के प्राप्ती भन्नु पर्यो नि। के लडाउन दौड्या ?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४