काठमाडौं - सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख रमेश चन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्। उनलाइ फैसला कार्यान्वयनका लागि डिल्लीबजारस्थित कारागार चलान गरिएको छ।
बिहीबार सर्वोच्च पुगेर पूर्वआइजीपी ठकुरीले आत्मसमर्पण गरेका हुन्। संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले पूर्वआइजीपी ठकुरीलाई जेल सजायको फैसला सुनाएको थियो।
अदालतले जेल सजायको फैसला सुनाएको दुई वर्ष भइसक्दा पनि ठकुरी फरार थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सुडान घोटाला प्रकरणमा ठकुरीसहित पूर्वआइजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङलगायत उच्च प्रहरी अधिकृतहरुलाई दोषी ठहर गरेको थियो।
अदालतले पूर्वआइजीपी ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको थियो भने पूर्वआइजीपी राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो। सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआइजीपीहरु राणा र गुरुङले डिल्लीबजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६८ साल जेठ २४ गते शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४