काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाडौंमा माक्स लगाउन पर्ने/नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आह्वान गरिन्।
‘म वनस्थली बस्छु, यहाँबाट वनस्थलीसम्म मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुस्,’ सांसद शाहीको भनाई थियो, ‘प्रधानमन्त्रीलाई मेरो सुझाव छ, त्यसपछि थाहा हुन्छ मास्क लगाउनु पर्छ कि पर्दैन भनेर।’
प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्क लगाएर हिँड्नुपर्ने अवस्था नरहेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको सो अभिव्यक्तिको सामाजिक संजालमा समेत चर्को आलोचना भईरहेको छ।
सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित भएको सो बैठकमा प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ भनि प्रश्न पनि गरिन् ?
उनले सरकारले ३ सय वटा विद्युतीय बस संचालन गर्ने योजना बनाएको उल्लेख गर्दै त्यसका लागि व्याट्री चार्जिङ स्टेशनको व्यवस्थापन सम्बन्धि योजनाबारे पनि जिज्ञासा राख्नु राखेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४