काठमाडौं - प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ।
२०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरी नै प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको हो। मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने यस कुण्डमा डुब्न र उपचार गराउनका लागि नेपालका साथै विदेशबाटसमेत पर्यटक र विरामीहरु आउने गरेका छन्।
त्यसका साथै तातोपानी कुण्डप्रति शिक्षणसंस्था र विद्यार्थीहरुको पनि आकर्षण बढेको छ। यहाँ समय समयमा शैक्षिक भ्रमणका लागि टाढाटाढाबाट समेत विद्यार्थीहरु आउन थालेका छन् भने अनुसन्धान गर्न समेत विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थी आउने गरेका छन्। तातोपानी कुण्ड म्याग्दीको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्दछ। तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ।
जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो। लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महङ्गा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि यहाँ दीर्घरोगीहरु पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।
कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत वर्षेनी सयौँ विदेशीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए।
कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन्। कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरु स्नान गर्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४