काठमाडौं- रोजगारीका लागि भन्दै चीन गएका ४४ जना महिला अलपत्र परेका छन्।
मेन पावर कम्पनीले भनेको जस्तो काम र तलब नपाएपछि उनीहरु अलपत्र परेका हुन्। एक गार्मेन्ट उद्योगमा काम गर्न उत्तर कोरियाको सीमानामा पर्ने ल्याओनिङ प्रान्तमा पुर्याइएका ती महिलाहरु अलपत्र परेका हुन्।
ती महिलाहरुमा गार्मेन्ट उद्योगमा काम गर्न सीप नभएको र चीन सरकारले रोजगारीका लागि स्वीकृति दिन आवश्यक कागजातसमेत नरहेको पाइएको छ।
केही समयअघि मेन पावर कम्पनीमार्फत् गएका उनीहरुले मेन पावर कम्पनीले आफूहरुलाई भनेको जस्तो काम र सुविधा त्यहाँ नपाएको भन्दै आफूहरु नेपाल फर्किन चाहेको बताएका छन्। नेपाल फर्किनका लागि पनि उनीहरुसँग आवश्यक कागजातसमेत नरहेको पाइएको छ।
यसबारे नेपालको परराष्ट्र मन्त्रालय भने लगभग बेखबर जस्तै देखिएको छ। यस विषयमा नेपाल समयले परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालको फोन नं ९८५१२१७१०१ मा फोन गर्दा सम्पर्क हुन सकेन। सह–प्रवक्ता सुरेश अधिकारीको फोन नं ९८४३७५३३५० मा सम्पर्क गर्दा उनले ‘आफुलाई यसबारे कुनै जानकारी नभएको तर मन्त्रालयको उच्च तहमा अवश्य पनि सुचना आएको हुनुपर्ने’ बताए।
बीबीसी नेपाली सेवाका अनुसार नेपालको श्रम विभागबाटै श्रम स्वीकृति लिएर गएका महिलाहरु ठगीमा परेका थिए। ल्याओनिङको एक गार्मेन्ट उद्योगले माग गरेको सीप तथा योग्यता नपुगेका कामदारलाई मेन पावर कम्पनीले त्यहाँ पुर्यार अलपत्र पारेको पाइएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवा बेइजिङमा कार्यरत पत्रकार चेतनाथ आचार्यले
बीबीसी नेपाली सेवालाई बताएका छन्।
अलपत्र परेका महिलाहरु गार्मेन्ट उद्योगमा काम गर्न आवश्यक सीप नभएका, लुगा सिलाउने मेसिन चलाउन नजानेका पाइएको छ। मेन पावर कम्पनीले ती महिलालाई कपडाहरु प्याकिङ गर्ने काम रहेको र त्यसबापत मासिक ३५ हजार नेपाली रुपैयाँ तलबसहित खाना र बस्नको सुबिधा रहेको आश्वासन दिएको पीडित महिलाहरुले बताएका छन्।
तर त्यहाँको कम्पनीले भने सीप नभएको भन्दै ५ हजार नेपाली रुपैयाँ तलब दिएको र अन्य सुविधा पनि नदिएको गुनासो पीडित महिलाहरुले पत्रकार आचार्यसँग गरेका थिए।
पत्रकार आचार्यका अनुसार सामान्यतया चीनले विदेशी कामदाहरुलाई आफ्नो देशमा लैजाने गरेको छैन। विशिष्ट क्षेत्रमा काम गर्नका लागि मात्रै केही कामदारहरु विदेशबाट ल्याइन्छ।
त्यस्तै शैक्षिक योग्यता पनि कम्तीमा स्नातक तह उत्र्तिण नभएको विदेशी कामदारले चीनमा काम गर्न पाउँदैनन्।
गार्मेन्ट उद्योगमा काम गर्न गएका महिलाहरुमा शैक्षिक योग्यता र सिप दुबै अपुग रहेको पाइएको छ।
उनीहरुलाई मेन पावर कम्पनीले चीनबाट हङकङ जान सकिने र राम्रो कमाई गर्न सकिने प्रलोभन देखाएको थियो।
हङकङ जाने सपनामा गएका महिलाहरु उत्तर कोरियाको सीमामा पर्ने ल्याओनिङ प्रान्तमा अलपत्र परेको र उद्धारको पर्खाईमा रहेको पत्रकार आचार्यले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४