काठमाडौं - नेपालमा आयोजना हुने भनिएको भारतीय फिल्म अवार्ड आइफा नहुने भएको छ। अवार्डको लागि नेपाल सरकारले सहयोग गर्ने भन्ने विषयमा चौतर्फी आलोचना भएपछि सो निर्णयबाट सरकार पछि हटेको हो।
सरकारले करोडौं रुपैयाँ खर्चेर भारतीय फिल्म अवार्ड नेपालमा आयोजना गर्न लागेको भन्दै विरोध भएको थियो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे । अवार्ड रोक्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो। संसदीय समितिको निर्देशन अनुसार आईफा अवार्ड आयोजना नगर्ने अवस्थामा आफूहरु पुगेको जोशीले बताए। समितिले अवार्ड आयोजनाले नेपालको सांस्कृतिक र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिएको थियो।
अवार्डका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको थियो। सरकारले पर्यटन वर्ष २०२० लाई सहयोग हुने गरी नेपालमा आइफा अवार्ड गर्न लागेको बताएको थियो। सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४