जनकपुरधाम- प्रदेश सरकार बनेको १५ महिना बितिसकेको छ। प्रदेश सरकार कार्यान्वयनमा आइसकेपछि जनताले ठूलो अपेक्षा राखेका थिए।
खास गरेर केन्द्रिकृत सरकारले मधेशलाई विभेद गरेको र अधिकारसम्पत्र बत्र नदिएको भन्दै निर्वाचनताका मधेश केन्द्रित दलहरुले जनताबीच चर्को नारा दिए। मधेशका जनताले पनि उनीहरुलाई विश्वास गरे र प्रदेश २ को सरकार बनाउने अवसर प्रदान गरे।
तर पछिल्ला दिनहरुमा प्रदेश सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेपछि चर्को आलोचना खेप्नुपरेको छ। प्रतिपक्षी दलमात्र नभएर सत्ताधारी दलका सांसदहरुले नै असक्षम मन्त्रीका कारण सरकार नै बदनाम हुन पुगेको भन्दै प्रदेशसभा बैठकमा पटकपटक आवाज उठाउँदै आएका छन्।
विशेषतः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुबाट स्वयम् राजपाकै सांसदहरु असन्तुष्ट देखिए। मन्त्रीहरु प्रदेशमुखीभन्दा पनि क्षेत्रमुखी बनेको भन्दै राजपा सांसदहरुले प्रदेशसभामा सोझै आरोप लगाएको धेरै दिन बितेको छैन।
आगामी आर्थिक वर्षको लागि सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको राजपाका सांसदहरुले खुलेरै विरोध जनाए। यहाँसम्म कि राजपाका पाँचजना सांसदहरुले आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए। मन्त्रीहरुको कामकारबाहीप्रति असन्तुष्ट बनेका सांसदहरुलाई फकाउन राजपाको अध्यक्षमण्डल नै जनकपुर पुग्नु पर्यो।
अध्यक्षमण्डलको आग्रहपछि राजपका सांसद मनिष सुमन र परमेश्वर साहले संशोधन फिर्ता लिए पनि डा.रीना यादव, विक्की साह र नेत्रविक्रम साह भने फिर्ता लिन तयार भएका थिएनन्। सत्ताधारी दलकै तीनजना सांसद विरोधमा उतरेपछि प्रदेश सरकार संकटमा परेको थियो।
अध्यक्ष मण्डलसँगको बैठकमा असन्तुष्ट सांसदहरुले राजपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु असक्षम रहेको र जनताको पक्षमा काम गर्र्न नसकेको भन्दै फेरिनुपर्ने ठाढो प्रस्ताव राखेका थिए।
मन्त्रीहरुका कारण पार्टी नै आलोचित बत्र पुगेको उनीहरुको भनाई थियो। यहाँसम्म कि असन्तुष्ट ती सांसदहरुले त अयोग्य मन्त्रीहरुका कारण आलोचित भएर बस्नुभन्दा प्रतिपक्षमै बस्नु राम्रो रहेको अध्यक्ष मण्डलका सदस्यहरुलाई बताएका थिए।
संशोधन फिर्ता नलिने अडानमा रहेका ती सांसदहरुको चित्त बुझाउन अध्यक्षमण्डलका सदस्यहरुले ‘नीति तथा कार्यक्रम पारित गरौं र बजेट लगत्तै मन्त्रीमण्डल फेरबदल’ गर्ने आश्वासन दिएका थिए। अध्यक्षमण्डलका सदस्यहरुले दिएको सोही आश्वासन अनुरुप राजपाले प्रदेश सरकारमा आफ्ना मन्त्रीहरु फेरबदल गर्ने तयारी सुरु गरेको हो।
‘मन्त्रीहरुको कामकारबाहीबाट सांसदहरु नै असन्तुष्ट देखिएका सांसदहरुलाई अध्यक्षमण्डलले प्रतिस्थापित गर्ने भद्र सहमति गरेका थिए,’ राजपाका एक नेताले भने, ‘नीति तथा कार्यक्रमको बेला अध्यक्षमण्डलका सदस्यहरुले गरेको भद्र सहमतिअनुसार चाँडै मन्त्रीमण्डल फेरबदल हुँदैछ।’ ती नेताका अनुसार मन्त्रीमण्डल हेरफेर गर्ने पहिलेदेखि चल्दै आए पनि नीति तथा कार्यक्रमप्रति देखिएको असन्तुष्टिपछि तिव्रता लिएको हो।
उपेन्द्र र राजेन्द्रबीच गोप्य वार्ता
मन्त्रीमण्डल फेरबदल हुने चर्चा चलिहरेको बेला प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच गोप्य वार्ता भएको छ।
योग दिवसको अवसरमा जनकपुर पुगेका बेला दुई नेताबीच शुक्रबार एक होटलमा झण्डै एक घन्टा गोप्य वार्ता भएको हो। यादव र महतोबीचको गोप्य वार्ता मन्त्रीमण्डल फेरबदल गर्ने सम्बन्धमा केन्द्रित रहेको राजपाका ती नेताले बताएका छन्।
‘राम्रो ‘परफर्मेन्स’ गर्न नसकेपछि उपेन्द्रजी त पहिल्यैदेखि मन्त्री फेर्न प्रस्ताव गदै आइरहनु भएको थियो,’ राजपाका ती नेताले भने, ‘पछिल्लो बैठक यसै विषयमा केन्द्रित भएको छ।’ मन्त्रीमण्डल कहिले फेरिने यस विषयमा तत्कालै भत्र नसकिए पनि असन्तुष्ट सांसदहरुलाई बजेटपछि परिवर्तन गर्ने आश्वासन दिएको उनको भनाई छ।
प्रदेश सरकारमा अहिले राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास, रामनरेश राय यादव वन तथा उद्योग र नवलकिशोर साह सामाजिक विकास मन्त्रालय सम्हालेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४