काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी राजापाका निलम्बित सांसद रेशमलाल चौधरीलाई उपचारका क्रममा पनि नेल लगाउनेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीलाई उपचारका क्रममा नेल लगाउनेलाई कारबाहीको निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो।
फोक्सोमा समस्या भएपछि चौधरी हाल वीर अस्पतालमा उपचाररत छन्। चौधरीलाई उपचारका क्रममा खुट्टामा नेल लगाइएको घटनापछि सामाजिक सञ्जालबाट सरकारको विरोध भएको छ।
चौधरीलाई भेट्न अस्पतालमा पुगेका पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको यस्तो कार्यको गम्भीर विरोध गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४