मंगलबार, साउन २६, २०८३

हुरीले उडायो कुखुरा किसानका सपना : १६ करोडको क्षति 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – गत जेठ २१ गते कुखुरा फार्ममा पुग्दा दुवै खोर कुखुराले भरिभराउ थिए। लेयर्स जातका कुखुराले अण्डा दिइरहेका थिए भने काम गर्ने युवक अण्डा निकालेर कुखुरालाई दाना दिइरहेको दृश्य लोभलाग्दो थियो। 

धनगढी उपमहानगरपालिका–२ कालिका मन्दिर टोलस्थित कृष्ण सिंहको उक्त कुखुरा फर्ममा एक हजार पाँच सय कुखुराले गत फागुनबाट नियमित अण्डा दिइरहेका थिए। तर त्यसको तीन दिनपछि अर्थात् जेठ २४ गते सोही फार्ममा पुग्दा अवस्था कहालीलाग्दो थियो। 

अघिल्लो राति आएको विनाशकारी हावाहुरीले खोर भत्काएको थियो भने यत्रतत्र मरेका कुखुरा देखिन्थे। अण्डा उत्पादनका लागि खोलिएको उक्त फार्ममा खोर पूरै हावाहुरीले भत्काएपछि बचेका कुरा सबै अहिलेसम्म खुल्ला आकाशमा छन्। 

करिब तीस लाख लगानीमा सुरु गरेको व्यावसाय एकै दिनको हावाहुरीले चौपट बनाएको सिंहले सुनाए। ‘बैंकको ऋण निकालेर सुरु गरेको व्यवसायमा बल्ल अण्डा उत्पादन सुरु भएको थियो। हावाहुरीले बर्बाद नै बनायो’, सिंहले भने, ‘अब खोर निर्माण गरेर पुनः व्यवसाय सञ्चालन गर्न सकिने अवस्था नभएकाले व्यवसाय नै छोड्ने सोचमा पुगेको छु।’ 

व्यवसाय छोड्ने मनसाय बनाएपछि सिंहले बचेका कुखुरा एउटाको तीन सय रुपैयाँका दरले बिक्री गरिरहेका छन्। जब कि लेयर्स जातको एउटा कुखुरा अण्डा दिने अवस्थासम्म पुग्दा आठ सयदेखि एक हजारसम्म लगानी हुन्छ।

कैलालीको गेटाका धर्मेन्द्र चौधरीको पनि दुवै खोर हावाहुरीले भत्काएर व्यवसाय चौपट पारेको छ। करिब तीन हजार कुखुराबाट अण्डा उत्पादन भइरहेको अवस्थामा हावाहुरीले दुवै खोर भत्काएर कुखुरासमेत मरेपछि उनी पनि बिचल्लीमा छन्। 

धनगढीका दलबहादुर शाहसहित छ जनाले संयुक्त रूपमा बैंकबाट ऋण निकालेर सुरु गरेको कुखुरापालन व्यवसाय त्यसै दिनको हावाहुरीले चौपट बनाएको छ। हावाहुरीले कुखुरा, फार्म तथा दाना, मेसिनलगायत सामान उडाएर कामै नलाग्ने बनाइदिएपछि बैंकको किस्ता र मजदुरलाई तलब खुवाउनै समस्या परेको छ। 

धनगढी–१२ को जुगेडामा १८ कट्ठामा कुखुरापालन व्यवसाय सुरु गरेका उनले बैंकबाट सवा एक करोड ऋण र छ जनाको दुई करोड गरी सवा तीन करोड लगानीमा १२ हजार लेयर्स जातको कुखुरापालन व्यवसाय गरेका थिए। दैनिक २६ पेटी अण्डा उत्पादन हुन्थ्यो।

सिंह, चौधरी र शाह जस्ता कैलाली र कञ्चनपुरका सयौँ कुखुरापालक किसानलाई जेठ २३ गतेको विनाशकारी हावाहुरीले सडकमा पुर्‍याएको छ। त्यो दिनको हावाहुरीले ह्याचरी उद्योग, दाना उद्योग, ठूलो लेयर्स र सानो लेयर्स फार्ममा गरी दुई जिल्लाको कुखुरा व्यवसायमा करिब १६ करोड बराबरको क्षति पुगाएको कुखुरा तथा अण्डा उत्पादन किसान संघको अनुमान छ। 

‘दुई जिल्लाका एक सयभन्दा बढी व्यवसायीको करिब १६ करोड बराबरको क्षति पुगेको अनुमान छ’, संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले भने, ‘दुई दिनभित्र क्षतिको विवरण संकलन सकेर जिल्ला प्रशासनमार्फत केन्द्र सरकारमा राहत तथा क्षतिपूर्तिका लागि पठाउने तयारी छ।’ 

हावाहुरीबाट सबैभन्दा बढी क्षति भएको व्यवसाय कुखुरा पालन व्यवसाय रहेको पाण्डेयले सुनाए। कुखुरामा  शतप्रतिशत र अण्डामा करिब ७० प्रतिशत आत्मनिर्भर भइसकेको सुदूरपश्चिममा त्यो दिनको हावाहुरीले अधिकांश व्यवसायीलाई उठ्नै नसक्ने गरी थला पारेको पाण्डेयले बताए। 

बजेटबाट निरास

यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटबाट कुखुरा व्यवसायी निराश बनेका छन्। प्रदेशका दुई जिल्लामा हावाहुरीले करिब १६ करोड बराबरको क्षति पुर्‍याउँदा पनि पीडित किसानलाई राहत र क्षतिपूर्तिबारे बजेटले केही नबोलेको भन्दै व्यवसायीहरु निराश बनेका हुन्। ‘व्यवसाय चौपट भएका बेला सरकारले बजेटमा एक रुपैयाँ पनि राहत र क्षतिपूर्ति भनेर छुट्याएन’, अध्यक्ष पाण्डेयले भने, ‘हामीलाई त प्रदेश सरकार छ भन्ने आभाससमेत दिलाउन सकेन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।