काठमाडौं - जन्मकैदको सजाय भोगिरहेका निलम्बित सांसद् रेसम चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ वीरमा भर्ना गरिएको हो।
उनलाई साङ्लोमै बाधेरै उपचार थालिएको छ। सुरक्षाका कारण उनको खुट्टामा नेल लगाइएको प्रहरीले बताएको छ। चौधरी लामोसमयदेखि हाडजोर्नीको समस्याबाट पीडित रहेका बताइएको छ। उनलाई हिडडुल गर्नमासमेत समस्या भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
चौधरी गत वर्ष सम्पन्न प्रतिनिधिसभाको चुनावमा भारी मतका साथ विजयी भएका थिए। उनी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्। २०७२ भदौ ७ गते टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। उनी १५ महिनादेखि डिल्लीबजार कारागारमा छन्। उनको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ।
प्रहरीले चौधरीलाई नेलले बाँधेर उपचार थालेको तस्बिरहरु यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेका छन्। प्रहरीले बिरामीमाथि अलिकती पनि मानवीयता नदेखाएको भन्दै प्रहरी प्रशासनको विरोध भैरहेको छ भने कसैले चौधरी नरसंहरमा दोषी भएका काराण यस्तो अपराधीलाई नेल लगाएर उपचार गर्दा कुनै परक नपर्ने प्रतिक्रिया दिइरहेका छन्।
यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले 'चौधरीलाई उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो?' भनि प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा चौधरीलाई भेटेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन् - 'टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो? आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका हुन्? यो हर्कत तुरून्त बन्द गर!'
