मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इरान-अमेरिका तनाव, हमला गर्न दिएको आफ्नै आदेश किन रोके ट्रम्पले ?

इरान-अमेरिका तनाव, हमला गर्न दिएको आफ्नै आदेश किन रोके ट्रम्पले ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीबार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्। द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएको भनेको छ।

योजना सुरुवाती स्तरमै हुँदा ट्रम्पले अमेरिकी सेनालाई निराश बनाएको समाचारहरूमा उल्लेख छ। पत्रिकाका अनुसार सो आक्रमण इरानले अमेरिकी ड्रोन खसालेको बदलामा गर्न लागिएको थियो। इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर अमेरिकी सेनाको एउटा ड्रोन बिहीबार बिहान खसालिदिएको थियो। इरानले आफ्नो आकाशमा आएकाले खसालिएको बताएको छ भने अमेरिकाले उक्त ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेको बेला खसालिएको आरोप लगाएको छ।

अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो।

न्यूयोर्क टाइम्सले के लेख्यो?

न्यूयोर्क टाइम्सले सबैभन्दा पहिले सो योजना बारे बिहीबार राति समाचार प्रकाशित गरेको थियो। पछि अन्य अमेरिकी पत्रिकाहरूले पनि आफैँले तथ्य सङ्कलन गरेर त्यही कुरा लेखे। न्यूयोर्क टाइम्सका अनुसार बिहीबार बेलुकी सात बजेसम्म पनि अमेरिकी सेना र कूटनीतिज्ञहरू इरानका राडार र क्षेप्यास्त्र ब्याट्रीहरू भएका स्थानमा आक्रमण गरिने अपेक्षामा थिए।

न्यूयोर्क टाइम्सले लेखेको छ, "हवाइजहाजहरू उडिरहेका थिए, जहाजहरू आवश्यक स्थानमा थिए तर पछाडि हट्ने आदेश आएकाले कुनै क्षेप्यास्त्र प्रहार भएन।" सो हमला इरानी नागरिकहरूलाई क्षति नपुगोस् भनेर शुक्रवार बिहानै गर्ने योजना गरिएको थियो। सो हमला फेरि हुने वा नहुने कुरा स्पष्ट छैन। ह्वाइट हाउस र रक्षा मन्त्रालय रहेको पेन्टागनले समाचारमाथि कुनै प्रतिक्रिया दिएका छैनन्।

ड्रोनलाई के भयो?

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानको इस्लामिक रिभोलुसनरी गार्डस् कोर (आइआरजिसी) ले बिहीबार सबेरै खसालेको हो। मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ। उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्। सोमबार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले 'उत्तेजक व्यवहार' देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

अमेरिकाले बिहीबारै अमेरिकी वायुसेवाहरूलाई इरानी आकाशको नजिकै जहाज नउडाउन आकस्मिक निर्देशन दिएको छ।

ट्रम्पले के भने?

राष्ट्रपति ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। ड्रोन खसाल्ने काम 'सायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने' उनको भनाइ थियो। तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्‍याएका छन्। ट्रम्पले उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको दोहोर्‍याएका छन्।

ट्रम्पले भने, "यो केवल शब्दमात्र होइन यसबारे पूरै वैज्ञानिक दस्तावेज हामीसँग छ।"
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।