काठमाडौं – पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा लगानीको लागि ‘विप्पा’ सम्झौता अनिवार्य भएको बताएका छन्। उनले नेपालमा लगानी भित्र्याउने हो भने भारत र चीनसँग विप्पा सम्झौता गर्नुपर्ने बताए। लगानी भित्र्याउनका लागि गरिने विप्पा सम्झौता देशको अहितमा नहुने उनले बताए।
शुक्रबार प्रनिनिधिसभामा बजेट माथिको छलफलमा बोल्दै डा.भट्टराइले अबको केही दशक नेपालको अर्थतन्त्र भारतप्रति नै आश्रित हुने दाबी गर्दै भने – 'अबको केही दशक भारतको विकल्पमा चीन हुनै सक्दैन, भारतको तुलनामा चीनको अर्थतन्त्रबाट हामीले लाभ लिन सक्दैनौं।'
उनले बजेट पहिलेको जस्तै निरन्तरता भएको दाबी गर्दै बजेटले अप्रत्यक्ष कर भन्दा प्रत्यक्ष कर संकलनका लागि बढी जोडदिनुपर्ने बताए। उनले भने, ‘बजेटले छाया अर्थतन्त्रको बारेमा केही बोलेको छैन। केही मानिसहरुका अनुसार नेपालको करिब दुई तिहाई छाया अर्थतन्त्र छ, तर यदी ५० प्रतिशतमात्र छाया अर्थतन्त्र भएपनि करिब १७ खर्ब भन्दा बढी रकम हुन्छ जसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ।’
उनले छाया अर्थतन्त्रलाई औपचारिक बाटोमा ल्याउन कुनै नीतिगत पहल नभएको बताउँदै अहिलेसम्म पनि नेपालका नागरिकको सम्पत्ति अभिलेख नभएको हुँदा देशको अर्थतन्त्रमा समस्या उत्पन्न हुने बताए।
'तथ्यांक भन्ने कुरा जता बंग्याएपनि हुन्छ। अहिलेको सरकारले तथ्यांक बंग्याएको छ।' उनले भने, 'जम्मा ३४ खर्बको नेपालको अर्थतन्त्रमा ७ प्रतिशतको आर्थिक बृद्धि खासै ठूलो होइन।'
बैचारिक अस्पष्टता नै अहिलेको समस्याको मुख्य विषय भएको दाबी गर्दै उनले संविधानमा राष्ट्रिय औद्योगिक पुँजीवाद हुँदै समाजबाट उन्मुख अर्थतन्त्र भन्ने रहेको तर समाजवादी अर्थतन्त्र मात्र बुझ्दा समस्या भएको स्पष्ट पारे।
संघीयताको मर्म नबुझेर नै बजेट ल्याइएको देखिएको बताउँदै उनले भने, ‘यो शुभ संकेत होइन।’ उनले नेताहरुको साेंच राज्य भनेको कामधेनु गाई रहेछ दुहुनुपर्छ भन्ने रहेको बताए। डा.भट्टराईले सरकारले अप्रत्यक्ष कर भन्दा प्रत्यक्ष कर बढाउन ध्यान दिनुपर्नेमा जोड दिँदै सहरी क्षेत्रको जग्गाको कारोबार र सुनको कारोबारमा एक हजार प्रतिशतले कर लगाउनुपर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४