मंगलबार, साउन २६, २०८३

इन्जिनियरिङमा योग : फरक प्रयास, उत्कृष्ट नतिजा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुन्दा अनौठो लाग्न सक्छ । इन्जिनियरिङ कलेजमा योग शिक्षा । त्यसमा पनि कक्षा तालिकामै समावेश गरेर हप्ताको पाँच घन्टा दैनिक विभिन्न योग अभ्यासदेखि ध्यान (मेडिटेसन) सम्म । तर, अचम्म मान्नुपर्ने कारण केही छैन ।

यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्जिनियरिङ क्षेत्रको अग्रणी कलेज काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा विगत १० वर्षदेखि चलिरहेको तालिका हो, जहाँ कक्षा रुटिङमै समावेश गरी निरन्तर योग कक्षा सञ्चालन भइरहेका छन् ।

हरेक मानिस जीवनमा सफल हुन चाहन्छ । जीवनमा व्यक्तिले प्राप्त गर्ने सकारात्मक उचाइ नै सफलताको कडी हो । जीवनको उन्नति, अवनति, सफलता, असफलता तथा सार्थकता र निरर्थकता व्यक्तिले प्राप्त गरेको शिक्षाले निर्धारण गर्छ ।
 
इन्जिनियरिङ शिक्षा भनेको दक्षता हासिल गर्ने शिक्षा हो । सम्पूर्ण इन्जिनियरिङ कलेजको ध्येय शिक्षामा दक्ष, नैतिक, सम्पन्न र कर्मठ नागरिक तयार गरी देश निर्माणमा सघाउ पुर्‍याउनु हो । यसैलाई मूल मन्त्र मानी काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीले अध्यात्मको समग्र सार बोकेको पूर्वीय चिन्तनको योगलाई पनि दैनिक कक्षामा अनिवार्य रुपमा समावेश गर्दै आएको हो ।

इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको सबैभन्दा ठूलो सफलताको चुनौती भनेको समय व्यवस्थापन हो । अत्यन्तै मिहिनेत गर्नुपर्ने भएकाले स्वास्थ्यमा गड्बडी आउने र निद्रा कम भएर विद्यार्थी तनाव (डिप्रेसन) मा पनि जान सक्छन् । त्यसैले योग र ध्यानको माध्यमबाट तनाव व्यवस्थापन गरी अत्यन्त दक्ष र आत्मविश्वासी इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ योग शिक्षालाई कलेजमा उच्च प्राथमिकता दिइएको हो ।
 
विगत १० वर्षको कलेजको योग शिक्षाको रेकर्डलाई अध्ययन गर्दा र देखिएको परिणामलाई केलाउँदा शुरुका केही वर्ष योगको कक्षामा विद्यार्थीको उपस्थिति केही कम भए पनि विगत पाँच वर्षदेखि इन्जिनियरिङका सम्पूर्ण विद्यार्थी दैनिक रूपमा योग अभ्यास गर्छन् । योग कक्षामा उपस्थित हुने विद्यार्थीको शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यमा सुधार, स्मरण शक्ति बढ्ने, तनाव घट्ने, उत्प्रेरणा बढ्ने हुँदा शैक्षिक गुणस्तरमा निकै सुधार देखिएको छ ।

सकारात्मक सोच
 
योग शिक्षाले जीवनमा ल्याउने सकारात्मक सोचका कारण काठमाडौं इन्जिनियरिङ कलेजमा अध्ययनरत सम्पूर्ण संकाय (सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल) मा विद्यार्थीको शैक्षिक स्तर तथा अन्य अतिरिक्त क्रियाकलापमा निकै राम्रो सुधार देखिएको छ भने यस कलेजबाट इन्जिनियरिङ उपाधि हासिल गरेका इन्जिनियरहरुले जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट रुपमा आफ्नो विज्ञतालाई उजागर गर्न सफल भएका छन् । 

नतिजा

विद्यार्थीको विगत ५ वर्षको नतिजालाई विश्लेषण गर्ने हो भने निकै उत्कृटता हासिल गरेको देख्न सकिन्छ ।

अझै रोचक पक्ष त के छ भने २०७४ को सिभिल व्याचमा अध्ययनरत विद्यार्थीहरु प्रथम वर्षको प्रथम खण्डमा ३४ प्रतिशत विशिष्ट श्रेणीमा उत्तीर्ण रहेका थिए भने बाँकी विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । यस नतिजामा उत्कृष्ट स्थान हासिल गर्ने र नियमित रुपमा उत्तीर्ण भएका विद्यार्थी कलेजले दिँदै आएको योग शिक्षाको कक्षामा पूर्णरुपमा उपस्थित भएका थिए ।
 
अतः योग र ध्यान जीवनका अभिन्न अंग रहेकोमा यहाँका विद्यार्थीहरु भलिभाँती रुपमा जानकार भइसकेका छन् । आजको युग प्रतिस्पर्धीको समय हो । यस प्रतिस्पर्धी समाजमा आफ्नो मनोबल उच्च राख्न, तनाव कम गर्न र सकारात्मक सोचका साथ अघि बढ्न योग–ध्यानले प्रेरणादायी भूमिका निर्वाह गर्दछ ।

शिक्षामा केवल दक्षता मात्र खोज्नु भन्दा नैतिक र मानवीय मूल्य भएको नागरिक तयार पार्नु आजको आवश्यकता हो । त्यसका लागि ध्यान र योग वैदिक कालदेखि अधुनातनसम्म उत्तिकै प्रभावकारी देखिएको छ । काठमाडौं इन्जिनियरिङ कलेजबाट उत्पादित जनशक्तिलाई हेर्दा देशलाई टेवा दिन सक्ने नागरिक तयार पार्ने विषयमा इन्जिनियरिङ क्षेत्रको पाठ्यक्रममा योगलाई अनिवार्य नै गर्नुपर्ने देखिन्छ ।

इन्जिनियरिङमा मात्र नभई अरु संकायमा पनि योग–ध्यानलाई अनिवार्य गर्दै जानुपर्ने देखिन्छ । ऋषिमुनिको तपोभूमि हाम्रो देशबाट योग हराउनु हुँदैन । यो पाटो पनि विचारणीय छ । त्यसका अतिरिक्त सदावहार सुख अर्थात् भित्री मनदेखि नै खुसी हुने हरेक मनुष्यको कर्म र आन्तरिक चाहना हुने हुँदा त्यसलाई पूरा गर्न योग एक निर्विकल्प अस्त्र बन्न सक्छ । यस्तो अमोघ ज्ञानको भण्डारलाई सारथि बनाएर हिँडिरहेकोमा काठमाडौँ इन्जिनियरिङ कलेज स्वयं धन्यवादको पात्र बनेर खडा भइरहेको छ । 

(प्रमुख सिभिल इन्जिनियरिङ विभाग, काठमाडौं इन्जिनियरिङ कलेज )
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।