महोत्तरी- महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेको छ ।
गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा बिहीबार राति अन्दाजी एक बजेतिर ८/१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठको हत्या गरेको हो ।
उनले घरमा चोर पसेपछि टोल छिमेकलाई होहल्ला गरी गुहार माग्न थालेपछि चोरहरुले उनको हत्या गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
चोरहरुले युवती श्रेष्ठको शरीरभरि धारिलो छुरा प्रहार गरी गम्भीर घाइते बनाई भागेपछि उनलाई राति २ बजेतिर प्रहरी चौकी कान्तिबजारबाट प्रहरी नायब निरीक्षक बलबहादुर माझीको नेतृत्वमा खटिएको प्रहरी टोली र परिवारजनले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगिएको थियो ।
तर त्यहाँ उनको उपचारपश्चात थप उपचार सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा आज बिहान पौने ५ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
प्रहरीले घटना घटेलगत्तै सो क्षेत्रमा चोर तथा हत्याराहरुको व्यापक खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४