काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
कसैले नेकपाका अध्यक्षबीच देखिएको दरारलाई मुख्य समाचार बनाएका छन् भने कसैले मेलम्ची अनिश्चित बनेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
केहि पत्रपत्रिकाले रसुवागढीको सुरुङमा १७ नेपाली मजदुर फसेको विषयलाई प्रमुख खबर बनाएका छन् । केहिले चिनियाँ पक्षले नेपालले रेलका लागि तयारी नगरेको भनेर जनाएको असन्तुष्टिलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले रेलका लागि नेपालले तयारी नगरेको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको विषयलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको हो ।
बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो।
चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ। चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ। यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ।
दोस्रो बुँदामा इन्जिनियरिङ पक्षका चुनौती कसरी सामना गर्ने भन्नेमा तयारी हुनुपर्ने र तेस्रो बुँदामा भौगर्भिक प्रकोपबाट उत्पन्न चुनौती न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा गहन अध्ययन हुनुपर्नेमा जोड दिइएको छ।
त्यस्तै चौथो बुँदामा रेलवेको सुरक्षामा अपनाउनुपर्ने उपायबारे अझै छलफल हुनुपर्ने र पाँचौं बुँदामा पर्यावरणमा पर्ने असर न्यूनीकरणमा वैज्ञानिक र प्राविधिक अध्ययन जरुरी भएको उल्लेख छ। तर, यता नेपाल सरकारले भने सामान्य तयारी समेत नगरेको समाचारमा उल्लेख छ ।
यस्तै नागरिकले नेकपाका दुई अध्यक्षबीच देखिको दरारलाई मुख्य समाचार बनाएको छ । पार्टी एकिकरण हुँदा जेट विमानका दुई पाइलट भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ ।
पछिल्लो पटक राजनीतिक कार्यदिशा, सरकारको कार्यशैली, आलोपाले सरकार चलाउने विषय, मन्त्रिपरिषद् हेरफेर, लोकसेवाको विज्ञापनलगायतका विषयमा दुई अध्यक्षबीच मतभेद देखिएको छ । अध्यक्ष पुष्पकमल दाहालले उठाएका विषयमा ओली प्रतिक्रियाबिहीन भएर बस्ने गरेको समाचारमा जनाइएको छ ।
यस्तै आजको कान्तिपुरले पनि नेकपामा अन्तर कलह शीर्षकमा खबर छापेको छ ।
पार्टी भित्र छलफल नहुने, अन्य नेताहरुको कुरै नसुन्ने प्रवृतिका कारण नेकपाका नेताहरु कुनै पनि विषयमा के बोल्ने भन्ने अन्योलमा देखिन थालेका छन् । शीर्ष नेताहरुले केन्द्रिय सदस्य र सांसदहरुलाई वेवास्ता गर्दा उनीहरु असन्तुष्ट बनेको पनि समाचारमा उल्लेख छ।
यस्तै कान्तिपुरले मोबाइल भ्यान प्रयोगशाला खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको विषयलाई पनि महत्वका साथ छापेको छ।
उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले मेलम्ची अझै अनिश्चित रहेको विषयलाई मुख्य समाचार बनाएको छ । मन्त्रिपरिषद्बाटै काम छिटो सक्न बिनाप्रतिस्पर्धा ठेक्का दिए पनि हुने कार्यादेश प्राप्त भएकाले त्यसैको आडमा व्यापक चलखेल सुरु भएको छ। काम भने करिब शून्य अवस्थामा रहेको समाचार उल्लेख छ ।
आजको नयाँ पत्रिकाले भने निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो ।सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४