काठमाडौं - नेकपाले केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्ज तोक्ने तयारी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा यसबारे सकारात्मक छलफल भएको छ। यस विषयमा अन्तिम निर्णय गर्न बिहीबार बिहान सचिवालयको बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल समयलाई जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार जिल्ला इन्चार्ज तोक्ने मोडालिटीबारे मोटामोटी समझदारी बनेको छ। केन्द्रीय सदस्यलाई नै जिल्ला इन्चार्ज तोकिने संभावना छ।
बिहीबार बिहान जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्ने, पोलिटब्युरो गठन गर्ने, जनवर्गीय संगठनको एकीकरण गर्ने र नेताहरुको कार्य विभाजन लगायतमा छलफल हुनेछ।
शीर्ष नेताहरुबीच थप गृहकार्य आवश्यक भएको भन्दै बिहीबारसम्मका लागि स्थगित भएको छ। अब जिल्लाको इन्चार्ज पूर्वएमालेको भए सहइन्चार्ज पूर्वमाओवादीको बनाउने मापदण्ड बनाइएको छ। त्यसैगरी जिल्ला अध्यक्ष एकातर्फको भए इन्चार्ज अर्कोतर्फको बनाउने पनि मापदण्ड तयार भएको छ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण पनि बैठकमा सो विषयमा विस्तृत छलफल गर्न नसकेको पनि उनले स्पट पारे ।
स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा तयार पारेको पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको सूचीमा वरिष्ठ नेता माधवकुमार नेपालले फरक थप छलफल गर्नुपर्ने भन्दै असहमति राखेका छन्।
सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएको बुझिएको छ। नेपालको अडानका कारण निर्णायक छलफल बिहीबारलाई सारिएको हो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको व्यस्तताका कारण पनि बुधबार विस्तृत छलफल हुन नसकेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४