सुर्खेत - कर्णाली करिडोरको गल्फाघाड सडक खण्डमा ब्लास्टर पड्किँदा आउने ड्याङड्याङ आवाजले हुम्लाका अदानचुली र ताँजाकोटवासी अचेल निकै खुसी छन्। सडकमा ब्लास्टरको जति ठूलोठूलो आवाज आउँछ त्यति नै उनीहरुको खुसी अझ बढेर जान्छ। कारण वर्षौंपछि आँगनमै सडक पुग्न थालेको छ। कुनै समय हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कुरा सुन्दा सपना मात्रै ठान्ने उनीहरु छिमेकी जिल्ला बाजुराको धुलाचौरमा सररर गाडी गुडेको देख्दा आफैँ दंग छन्।
‘वर्षौंदेखि गाडी आउँछ भनेर हल्लामात्रै गरिन्थ्यो अब भने साँच्चिकै गाडी आउने आशा छ’, ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्ल भन्छन्, ‘केही महिनामै जनताले विकासको फल चाख्न पाउँछन्।’ २०५६/५७ देखि हुम्लावासीको सपना पूरा हुने भएपछि नागरिकले खुसी महसुस गरेको उनको भनाइ छ। ‘कर्णाली करिडोर नै हुम्लावासीको विकास र समृद्धिको मुख्य आधार हो’ अध्यक्ष मल्ल थप्छन्, ‘करिडोरले हुम्लीको मुहारमा खुसीमात्रै ल्याउने छैन, रोग र भोक पनि हटाउनेछ।’
उसो त राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले हुम्लावासीमात्रै होइन, सुदूरपश्चिमको बाजुरा र कालिकोटका नागरिक पनि उत्तिकै खुसी छन्। खुसी नहुन पनि कसरी सडक पुगेपछि उनीहरुको जीवनमा नै ठूलो परिवर्तन आएको छ। कालिकोट सान्नित्रिवेणी गाउँपालिका २ का किसान खुसीसँगै आर्थिक समृद्धिमा जोडिएका छन्। ‘हिजो कालापहाड जान्थ्यौँ, गाडी पुगेपछि गाउँमै तरकारी खेती गर्न थालेका छौँ’, मस्टो सरस्वती समूहका अध्यक्ष वीरवहादुर बटाला भन्छन्, ‘गाउँमा गाडीमात्रै आएन, पैसा पनि आयौं।’ वडाका ५३ घरपरिवार सामूहिक तरकारी खेतीमा जुटेको उनको भनाइ छ।
उता कालिकोटकै रास्कोट नगरपालिका प्रमुख काशीचन्द बराल पनि १० दिनसम्म डोकामा बिरामी बोकेर अस्पतालमा पुग्नु पर्ने बाध्यता अन्त्य भएको बताउँछन्। ‘बिरामी या भारी बोकेर पदल हिँड्दा जोकोहीको शरीर पसिनाले निथ्रुक्क भिज्थो’, बराल भन्छन्, ‘आजभोलि हुम्ली र बाजुरेली पनि गाडीमा धुलो उडाउँदै यात्रा गर्छन्।’ कामविशेषले सुर्खेत–नेपालगन्ज जाँदा हुम्लाको सर्केगाड, ताजाकोट, अदानचुली, बाजुराका हिमाली गाउँपालिकाका स्थानीयले निर्माणधीन करिडोरको बाटो प्रयोग गर्दै आएका छन्।
गाउँको उत्पादन बजारसम्म पुग्ने भएपछि सान्नीगाड, भात्तडी, पचालझरनाको भुरावगर, जारकोटलगायतका नागरिकले व्यावसायिक कृषि खेती गर्न थालेका छन्। करिडोर हुम्लासम्म जोडिएको खण्डमा समग्र कर्णालीबासीको दैनिकी फेरिने र विकासको बेलुन फुट्ने नागरिकको विश्वास छ।
एक सय किलोमिटर ट्रयाक खुल्यो
२०५७ सालदेखि चर्चामा आएको करिडोर द्वन्द्वको चपेटाले गर्दा आर्थिक वर्ष २०६५/०६६ मा आएर मात्र ठेक्का प्रक्रिया अगाडि बढ्यो। तर मौसमको प्रतिकूलता, राजनीतिक अस्थिरता र भौगोलिक विकटताका कारण निर्माण अगाडि बढ्न सकेन। शान्ति प्रक्रियाको लामो समयसम्म पनि सोचेअनुसार काम अगाडि बढ्न नसकेपछि २०७१ चैत ५ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार चैत ९ गतेदेखि निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो।
निर्माणको जिम्मा पाएको ५ वर्षसम्म आइपुग्दा करिडोरको एक सय किलोमिटर ट्र्याक खुलिसकेको छ। कुल १९६ किमि सडकमध्ये ५१ किमि खण्ड सडक विभागले र १४५ किलोमिटर नेपाली सेनाले निर्माण गरिरहेको छ। हुम्लाको हुम्लाको सल्लीसल्लादेखि सदरमुकाम सिमिकोटसम्मको ५१ किलोमिटर पनि विभागले निर्माण थालिरहेको छ।
करिडोरमध्ये हुम्ला खण्डमा १ सय १३ किलोमिटर, बाजुरामा ४३ किलोमिटर र कालिकोट खण्डमा ४० किलोमिटर पर्छ। सडक खण्डमा पर्ने खुलालु खोला, शान्तिघाट खोला, फूगाड खोला, भक्का खोला, जुड्डीगाड खोला, कुन्डा ओला र कुवाडी खोलामा गरी आठ ठाउँमा पक्की पुल निर्माण भइरहेका छन्। ६ मिटर चौडाइ रहेको सडकको दायाँबायाँ ७.५ प्रतिशत क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नपाइने मापदण्ड बनाइएको छ। भविष्यमा सडकलाई थप चौडाइ गर्न सहयोग मिल्ने भन्दै दायाँबायाँ यस्तो मापदण्ड तोकिएको हो।
कालिकोटको खुलालुबाट ७ सय ३० मिटर सुरु भएको करिडोर हुम्लाको सिमिकोट पुग्दा दुई हजार ९४५ मिटरको उचाइमा चढ्नेछ। करिडोरको काम सम्पन्न भएपछि खुलालु, रंगिल, शान्तिघाट, काप्रीगाउँ, पिलुचौर, अर्थंगेचौर, बोल्ढिक, कुवाडी, मकैगाउँ, तुम्चागाउँ, सरिसल्ला, सर्किगाड, लालिगाउँ, खर्पुनाथ, बारागाउँ र सिमिकोटका बासिन्दाले लाभ पाउनेछन्।
जोखिम मोलेर काम गर्दै सेना
नेपाली सेनाले जोखिमपूर्ण तरिकाले काम अगाडि बढाएको छ। ‘मृत्युसँग बाजी थापेर अग्ला र भिरालो पहाडरु फोडिरहेका छौँ’, कर्णाली करिडोर निर्माण कार्य दलका प्रमुख प्राविधिक सेनानी मिलन कार्की भन्छन्, ‘कहिले हिमपात त कहिले निर्माण सामग्री अभावले सताउँछ तर सडक निर्माणमा रातदिन खटिरहेका छौँ।’ ५ वर्षदेखि विभिन्न ठाउँमा क्याम्प बनाएर २ सय १० जना सेनाको टोली सडक निर्माणमा खटिएको कार्की बताउँछन्। हिउँद बर्खामा कर्णाली नदीमा फेरी नचल्ने भएकाले निर्माण सामग्री ल्याउन अप्ठेरो हुने गरेको उनको भनाइ छ।
करिडोर निर्माणमा हालसम्म ८३ करोड रकम खर्च भएको छ। चालु आर्थिक वर्षका लागि २० करोड मात्र रकम छुट्ट्याइएको छ। ५५ करोड थप भए तोकिएको समयमै सडक खण्ड पूरा हुने सेनाको अपेक्षा छ। करिडोरको १९६ किलोमिटरमध्ये हालसम्म सेनाले एक सय किलोमिटर सडक खण्डमा चट्टान फुटाइसकेको छ। तर पनि हुम्लाको कुवाडी खोलामा पुल नहुँदा ट्र्याक खुलेको १७ अर्थात् सर्केघाटसम्म गाडी पुग्न सकेको छैन। कुवाडी खोलामा निर्माण गरिने ५१ मिटर बेलिब्रिज पुलका लागि सामान ढुवानी हुन सकेको छैन।
कर्णालीको बहाव बढेपछि कालिकोटको जितेगडामा रहेको फेरी चैतदेखि बन्द छ। बेलिब्रिजका अधिकांश सामग्री हेलिकप्टरबाट ओसार्न सम्भव नहुँदा मंसिरपछि मात्रै पुल निर्माण सम्पन्न हुने सेनाको भनाइ छ। हाल कर्णाली नदीको जितेगढामा फेरीबाट तारिएका गाडी कर्णाली करिडोरको जितेदेखि बाजुरा र हुम्लाको सिमाना कुवाडी खोलासम्म चल्ने गरेका छन्।
बढ्नेछ छिमेकी सम्बन्ध
कर्णाली करिडोर निर्माण सम्पन्न भएपछि छिमेकी देश भारत र चीनसँग सम्बन्ध बढ्ने अपेक्षा छ। कर्णालीको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको यो सडकले चीनको हिल्साबाट दक्षिणी भारतीय नाका जोड्नेछ। हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहसम्म पुग्न ५ सय ३० किलोमिटर पार गर्नुपर्नेछ।
सडक पर्यटन र व्यापारका दृष्टिले त्रिदेशीय ट्रान्जिट विन्दु बन्नेछ। जसमध्ये भारतबाट तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि सडकले सहज बनाउनेछ। एकातिर सडकको निर्माण सकिएपछि सदीयौंदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा गरिएको छ भने अर्कोतिर छिमेकी देशसँग नाका नखुलेको कर्णाली प्रदेश चीनसँग जोडिनेछ।
