काठमाडौं- इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई शुभकामना दिएकी छिन् ।
राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ ।
राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिन ।
के भने प्रधानमन्त्रीले ?
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउने बताएका छन् ।
प्रधानमन्त्रीले जारी गरेको सन्देशमा संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति गरिएको उल्लेख छ ।
सन्देशमा देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको भनिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४