वीरगन्ज- झोले विद्यालयको जालो भत्किन नपाउँदै पर्सामा नक्कली शिक्षक नियुक्तिको धन्दा प्रकरण सार्वजनिक भएको छ।
सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिको अधिकार स्थानीय तहलाई नै दिइएपछि नक्कली शिक्षक नियुक्ति र तलब दुरुपयोगको प्रकरण सुरु भएको हो।
स्थानीय तहमा कार्यरत विद्यालय निरीक्षकले नक्कली नियुक्तिपत्रका आधारमा शिक्षक नियुक्त गर्ने र एउटा विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेर नियुक्तिको विषय ढाकछोप गर्ने प्रयास गरिएको छ।
एकजना शिक्षकको नियुक्तिमा विद्यालय निरीक्षक, प्रधानाध्यापक र शिक्षक संगठनका पदाधिकारीले बेरोजगार युवाबाट पाँच लाख रुपैयाँसम्म घुस रकम असुली गरेको पीडितले जानकारी दिएका छन्।
स्थानीय तह गठनपछि जिल्ला शिक्षा कार्यालयको कानुनी अस्तित्व नरहेको मौका छोपेर योजनाबद्ध रुपमा तत्कालीन जिल्ला शिक्षा कार्यालयका कर्मचारी र शिक्षक संगठनका पदाधिकारीको मिलेमतोमा फर्जी नियुक्ति र सरुवाको सिलसिला सुरु भएको थियो।
वीरगन्ज महानगरपालिकाको बेलवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षकद्वय अवधेश यादव र सितम्बर ठाकुर २०७५ भदौ ५ गते पक्राउ परेपछि नक्कली शिक्षक नियुक्ति र सरुवा प्रकरणबारे प्रकाशमा आएको थियो।
अख्तियारको सक्रियता
सामुदायिक विद्यालयमा नक्कली शिक्षक नियुक्ति प्रकरणबारे उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। अख्तियारको हेटौंडास्थित कार्यालयले जगरनाथपुर गाउँपालिकाका विद्यालय निरीक्षक राजेश्वर चौरसियालाई आइतबार नियन्त्रणमा लिएको छ।
चौरसियाविरुद्ध थप अनुसन्धानका लागि अख्तियार मुख्यालय काठमाडाैं पठाइएको अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयका सूचना अधिकारी देवकुमार राईले जानकारी दिए।
नक्कली शिक्षक नियुक्ति प्रकरण बाहिरिएपछि कारबाहीबाट उम्किन विद्यालय निरीक्षक चौरसिया दुईसाता अघिदेखि नै फरार थिए। जगरनाथपुर गाउँपालिकाको २४ मध्ये १९ वटा सामुदायिक विद्यालयमा नक्कली शिक्षक नियुक्ति र सरुवा गरिएको अख्तियारको अनुसन्धानको क्रममा खुलेको छ। अख्तियारको सक्रियतापछि अझै तीनजना विद्यालय निरीक्षक फरार रहेका छन्।
जगरनाथपुर गाउँपालिकाबाट फर्जी शिक्षकले २०७४ को पुसदेखि चैतसम्म र २०७५ को साउन महिनासम्म गरेर कूल आठ महिनाको तलब भुक्तानी लिइसकेका छन्। नक्कली शिक्षकले मात्र करिब ७२ लाख रुपैयाँ तलब भुक्तानी लिइसकेका अनुसन्धानका क्रममा खुलेको छ।
जगरनाथपुर, सखुवाप्रसौनी, पटेर्वासुगौली र वीरगन्ज महानगरपालिकाको सामुदायिक विद्यालयमा नक्कली शिक्षक उल्लेख्य संख्यामा नियुक्त गरिएका छन् । नक्कली नियुक्ति पत्रमा तत्कालीन जिल्ला शिक्षा अधिकारी केदार तिवारी र बरखुप्रसाद रजकको फर्जी दस्तखत छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४