काठमाडौं- गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठकले पोलिटब्युरो गठन तथा केन्द्रीय कमिटीको कार्यविभाजनको टुङ्गो लगाउने जनाइएको छ । पार्टीको विधानअनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीबाट १ सय ४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ ।
सचिवालय बैठक बस्नु अघि दुई अध्यक्षसहितका शीर्ष नेताहरु गोप्य छलफलमा बसेका थिए । दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । हिजो पनि अध्यक्षद्वय बीच छलफल भयो ।
यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो ।
बैठकमा पछिल्लो पटक अध्यक्ष प्रचण्डले उठाएको आलोपालो सरकार चलाउने विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ। दुई अध्यक्षमध्ये एकजनाले पूर्ण रुपमा पार्टी चलाउने र अर्कोले सरकार चलाउने विषयमा सचिवालय सदस्यहरुले मत राख्न सक्ने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४