काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकतामा पारेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले विप्लव समूहले सोलुखुम्बुको एक गाउँको प्रहरी चौकीमा विप्लव समूहले आक्रमण गर्ने तयारी गरेको भन्दै प्रहरी भागेको विषयलाई मुख्य समाचार बनाएको छ। उसले यो विषयलाई देशै हल्लाउने एउटा शंका, आधार भेटिएन चौकी कब्जाको शीर्षकमा खबर छापेको छ ।
विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको, विप्लवका कार्यकर्ताले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आए । तर, स्थानीय बासिन्दाका अनुसार त्यहाँ न विप्लवका नेताकार्यकर्ताले धावा बोलेका थिए, न कब्जा गर्ने उद्देश्यले नै पुगेका थिए। त्यहाँ विप्लवका नेताकार्यकर्ता भने देखिएका थिए।
गाउँपालिकाका अध्यक्ष सागर किरातीका अनुसार केही दिनदेखि गाउँमा बाहिरबाट आएका व्यक्तिको बाक्लो उपस्थिति भने थियो ।
सोही उपस्थिती बढेपछि सोलुको छेस्काममा रहेका प्रहरीले आक्रमण गर्ने संकेत पाएपछि प्रहरी चौकी छोडेर आफैं सुरक्षित बसेका थिए । त्यसकै आधारमा हल्ला भयो भने गृहमन्त्रालयले तुरुन्त सुरक्षा संयन्त्रको बैठक डाकेर बैठक डाकेर त्यस क्षेत्रमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।
कुरै नबुझि हल्लाको पछि सरकार लाग्दा यसले हाम्रो गुप्चर निकाय र सुचना संयन्त्र कति कमजोर छ भन्ने प्रस्ट पार्छ ।
यस्तै आजकाे कान्तिपुरले नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गाएको विषयलाई एङ्कर न्यूज बनाएको छ ।
सरकारले प्रतिबन्ध लगाएपछि धमाधम आफ्ना कार्यकर्ता पक्राउ परेको र कारबाही प्रक्रिया असफल बन्दै गएको भन्दै विप्लव समूहभित्रै केही नेताहरुले वार्तामा जोड दिएको समाचारमा उल्लेख छ ।
नागरिक समाज, वुद्धिजीवी र सत्तापक्षीय नेताले पनि विप्लव समूहलाई वार्तामा बस्न दबाब दिएका छन् । केहि दिनअघि नेपाल बन्द गराउने क्रममा बम विस्फोट भएर आफ्नै कार्यकर्ता मरेपछि पनि उसलाई वार्ताका लागि दबाब बढेको हो ।
यस्तै कान्तिपुर दैनिकले सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीच धु्रवीकरण बढेको विषय र सांसदहरुलाई प्रत्येक वर्ष मनलाग्दी खर्चका लागि दिइने रकम बढाइएको विषयलाई मुख्य समाचार बनाएको छ ।
नेकपामा पार्टी एकता हुँदा गरिएको गोप्य सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद पाउनु पर्ने मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएपछि शीर्ष नेताहरुबीच धु्रवीकरण बढेको हो ।
वामदेवगौतमलगायतका नेता एकजना प्रधानमन्त्री, एक जना अध्यक्ष हुनु पर्ने पक्षमा छन् भने इश्वर पोखरेललगायतका नेता जो अध्यक्ष उही प्रधानमन्त्री हुनु पर्ने एकल मोडलको पक्षमा उभिएको कान्तिपुरले लेखेको छ ।
यस्तै कान्तिपुरले २०५१/५२ सालबाट २ लाख ५० हजारका दरले सांसदलाई विकासका नाममा बजेट दिन थालिएकोमा अहिले ६ करोड पुर्याइएको छ । सुरुमा सांसदलाई दिदाको रकम विकास बजेटको जम्मा ०.२४ प्रतिशत थियो भने अहिले ५ प्रतिशत पुगेको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकले भने सगरमाथामा मृत्यु व्यापार शीर्षकमा मुख्य समाचार छापेको छ । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेको समाचारमा उल्लेख छ ।
आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा हुने ठूलो आम्दानीले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन्। आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरू चुक्न थालेका छन्।
यस्तै सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।
सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३ सय ३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरेको हो। खरिदका लागि आइतबार बोलपत्र आह्वान भएको समाचारमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४