जनकपुरधाम– जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन आउने ग्रामीण भेगका सोझासाझा मानिसलाई फकाइफुसलाई निजी क्लिनिकमा पठाउने दुईजना दलाल प्रहरी फन्दामा परेको छ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीय मनोज यादव र सिरहा नगरपालिका– ११ घर भई हाल जनकपुर बस्दै आएका २५ वर्षीय संजय कामती रहेको प्रहरीले जनाएको छ। दुबै जनालाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरिएको हो।
उनीहरु अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई बाटोमै छेकी फकाइफुसलाई निजी क्लिनिक र अस्पताल पठाएर कमिसन खाने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ग्रामीण क्षेत्रबाट उपचारका लागि आउने सोझासाझा बिरामीहरुलाई उनीहरु आफ्नो निशाना बनाउने गरेको प्रहरीको भनाइ छ।
आइतबार पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।
जनकपुर अञ्चल अस्पताल क्षेत्रमा बिरामीलाई आफ्नो फन्दामा पारी निजी क्लिनिकतर्फ पठाउने बिचौलियाहरुको गिरोह नै सक्रिय रहेको बताइएको छ। बिचौलियाहरुले सक्रिय हुँदा अञ्चल अस्पतालमा सस्तो र शुलभ तरिकाले उपचार पाउने भएपनि निजी क्लिनिकमा बढी रकम खर्चगर्न सोझासाझा बिरामीहरु बाध्य हुँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४