काठमाडौं - भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री भएका छन्। भारतीय जनता पार्टीले बहुमत ल्याएर सरकार गठन गरेकाले मोदी नेतृत्वको सरकारलाई शक्तिशाली भनिएको छ। हुन त मोदीको यो दोस्रो कार्यकाल हो। त्यस्तै भारतमा सत्ता परिवर्तन हुनेबित्तिकै नेपाल मामिलामा ‘साउथ ब्लक’ ले हेर्ने रणनीति परिवर्तन हुँदैन। तर दोस्रो कार्यकालमा शक्तिशाली रूपमा उदाएपछि नेपालप्रति उनको चासो कस्तो होला भन्ने जिज्ञासा उठ्न थालेको छ।
भारतले आफ्नो स्वार्थ अनुकूलका गतिविधि बढाएपछि पछिल्लो समय नेपालमा भारतविरोधी नारा चर्किएको थियो। २०७२ सालमा अघोषित नाकाबन्दी लगाएपछि नेपालमा भारतविरुद्धको स्वर प्रखर भयो। पुनः मोदी नै आएपछि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप त हुने होइन भन्ने आशंका व्यक्त हुन थालेको छ।
भारतले सधैं सुरक्षा विषयलाई आफ्नो मुख्य एजेन्डा बनाउने गरेको छ। खुला सिमाना, हाइड्रो पावर र विकासका लागि बनाइएका संयुक्त मञ्च भारतका मुख्य चासोका विषय हुन्। परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदी भन्छन्, ‘नेपालको वर्तमान अवस्थाप्रति मोदी सरकारको आफ्नो रिजर्भेसन छ। उनीहरुले आफ्नो धारणा लिएर जानु स्वाभाविकै हो। त्यसकारण उनीहरुको एजेन्डा अगाडि बढाउने सम्भावना छ।’
मोदी दोस्रोपटक प्रधानमन्त्री हुँदैमा नेपाल आत्तिनुपर्ने अवस्था नरहेको उनी बताउँछन्। सुवेदी भन्छन्, ‘नेपाली जनताको चाहनाविपरीत भारतले केही गर्न सक्दैन।’
भारतका लागि पूर्वराजदूत लोकराज बराल पनि मोदी नेतृत्वको सरकार आएपछि नेपालमा बढी हल्लीखल्ली भएको बताउँछन्। चाहेभन्दा बढी हल्ला गरेर नेपालीलाई त्रसित गर्न खोजिएको बरालको बुझाइ छ।
हिन्दुत्व राज्यका कुरा
नेपालको संविधानमा भारतीय चासोको मुख्य विषय हिन्दुत्व रहेको बुझाइ सुवेदीको छ। उनी भन्छन्, ‘संविधानमा उनीहरुको फरक धारणा छ। नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भन्ने धारणा मोदीको मात्र होइन अधिकांश भारतीयको हो। भारतीय जनताले पनि नेपाललाई आस्थाको केन्द्र बनाउन खोजेको छन्।’
संविधान जारी हुँदा भारतीय पक्षको मुख्य चासो हिन्दुत्व थियो। त्यसैले राजतन्त्रको चर्चा हुनु स्वाभाविकै भएको सुवेदीको भनाइ छ।
सुवेदीसँग भारतका लागि पूर्वराजदूत लोकराज बराल पनि सहमत छन्। बरालले पनि भने, ‘मुख्य विषय नै हिन्दुत्व हो। घुमाई फिराई त्यही धारणा आउनेछ।’
मोदी अथवा भारतले चाहेर नेपाल हिन्दु राज्य हुन नसक्ने दाबी बरालको छ। उनी भन्छन्, ‘नेपालकै कांग्रेस कम्युनिस्टले चाहे मात्र नेपाल हिन्दु राज्य हुन सक्छ। यिनीहरुले नै त्यसतर्फ ध्यान दिए मात्रै भारतले केही गर्न सक्छ, होइन भने केही हुँदैन।’
सार्क कि बिमस्टेक?
भारत अहिले एसियाको नेतृत्व गर्न चाहन्छ। त्यो पनि आफ्ना शत्रु राष्ट्रबाहेक। त्यसैले भारतले सार्कलाई अस्तित्वहीन बनाउन खोजेको देखिन्छ। बरालले भने, ‘उसले सार्कको विकल्पमा बिमस्टेक अगाडि सार्नुको कारण यही हो।’ किनकि बिमस्टेकमा भारतको प्रमुख शत्रु राष्ट्र पाकिस्तान आबद्ध छैन। त्यसैले मोदीले दोस्रो कार्यकालको शपथ ग्रहणमा पाकिस्तानलाई नबोलाएको विश्लेषकहरू बताउँछन्।
मोदीले सार्कको अध्यक्षता गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता गरे। ओली र मोदीसँगको छलफलमा पनि सार्कको विषयमा कुरा उठेको चर्चा छ। उक्त छलफलमा मोदीले भारतनिा नै सार्कलाई अगाडि बढाउन संकेत गरेका छन्।
भारतविना सार्क सञ्चालनमा समस्या हुने पूर्वराजदूत बराल बताउँछन्। उनी भन्छन् ‘भारत विना सार्क अगाडि बढाउने कुरा नगरे हुन्छ। जुन बेला भारत र पाकिस्तानको सम्बन्ध हाम्रो होला, त्यसबेला सोचे हुन्छ।’
सुवेदी भन्छन्, ‘सार्क र बिमस्टेकको कुरा पनि छ। भारतले अहिले बिमस्टेकलाई अगाडि बढाउन चाहेको छ। पानी अथवा अन्य फाइदाका हिसावले नेपालको लागि बिमस्टेक राम्रो हो।’
नेपाल अध्यक्ष रहेको सार्कलाई के गर्ने भन्ने प्रश्नमा उनी भन्छन्, ‘अब भारतले भनेकै छ भारतविना सार्कलाई अगाडि बढाउनुस्। तर त्यसमा नेपाललाई फाइदा होला जस्तो लाग्दैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४