काठमाडौं - आइतबार राति १२ बज्दै थियो। सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकीमा रहेका प्रहरीहरूको भागाभाग भयो। जनताको ज्यूधनको सुरक्षाका लागि खटिएका प्रहरी आफै भाग्न पुगे। यसको कारण थियो विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्ने सूचना।
सात जनाको समूहमा रहेका प्रहरी, चौकी कब्जा सूचना पाएपछि चौकी खाली गरेर हिडेका हुन्। त्यसपछि बिप्लवका कार्यकर्ताले खाली चौकी कब्जा गर्दै रातभर त्यही बिताए। चौकी कब्जा गरेको गर्व गरेका विप्लवका कार्यकर्ताले टर्च लाईट वरिपरी झल्याकझुलुक गर्दै खुसियाली मनाइरहे। प्रहरी हेडक्वाटरमा अहिले यस्तै सूचना प्राप्त भएको एक अधिकृतले बताए। उनका अनुसार बिहान उज्यालो हुने बित्तिकै उनीहरू संखुवासभा तर्फ लागेका थिए।
माओवादी जनयुद्ध र यो एकै प्रकारको नभएपनि घटना एकै प्रकारको भएको छ। बिप्लवले जनयुद्धको घोषणा गरेको छैन। तर, २०५२ साल फागुन १ गते माओवादीले जनयुद्ध घोषणा गरेको थियो। जनयुद्ध घोषणा नगरेपनि विगत केही समयदेखि विप्लवले मुलुकभर हिसात्मक गतिविधि बढाइरहेको थियो। यद्यपी सोलुको चौकीमा ‘भद्र युद्ध’ युद्ध भएको छ।
विप्लवको आइतबार रातिको सोलु आक्रमणले २०५२ तत्कालीन युद्धरत माओवादीले रोल्पाको महत चौकीमा गरेको पहिलो आक्रमणकै झल्को दिने खालको भएको छ। महत चौकीबाट तत्कालिन माओवादीले प्रहरीका सबै हतियार लुटेर लगेको थियो। प्रहरीले पहिले नै सूचना पाइसकेकाले सोलुको घटना त्यस्तो हुनबाट भने बच्यो।
सात जनाको संख्यामा रहेको प्रहरीले भागेर हतियार जोगाएको छ। सयमै सूचना पाएको प्रहरीले थप सुरक्षा संयन्त्र मगाउनुपर्नेमा चौकी नै छोडेर भागेको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।
हतियार जोगाउन भागेको भन्दै पन्छिनु उपलब्धी नभएको टिप्पणी गर्दै सुरक्षाविद्हरुले यो राज्यको नालायकीपन भएको बताएका छन्। सहरमा राज्यले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने र गाउँमा चौकी खाली गरेर भाग्ने प्रवृतिले सरकार निकै कमजोर रहेको पुष्टिभएको छ।
सोलुको प्रहरी चौकीबाट यो प्रहरी भागेको होइन सिंगो सरकार र राज्य संयन्त्र भागेको हो। संयोगबस चौकीमा गोली पड्केन तर, यो घटनाले सरकारको नाकैमा गोली पड्केको सुरक्षाविद् दाबी गर्छन। यसबाट प्रहरी संयन्त्र कति उच्च मनोवलमा काम गर्छ भन्ने एउटा देखाएको छ।
प्रहरी चौकीमा विप्लव कार्यकर्ता आउने सूचना पाएपछि प्रहरी भाग्नु कर्तव्यबोध होइन। उनीहरूले थप सुरक्षाका लागि अरु शक्तिको माग गर्नुपर्थ्यो। प्रहरीका अधिकृतहरू नै दाबी गर्छन् उनीहरूलाई बन्दूक दिएको खल्तीमा राखेर हिड्न होइन्। त्यो आवश्यक पर्दा पड्काउन हो। माओवादी जनयुद्ध चलेको बेला तत्कालीन डिएसपी ठुले राई हतियार नपड्काई आत्मसमपर्ण गरेको अभियोगमा कारवाहीमा परेको उदहारण छ।
एक सुरक्षा बिज्ञका अनुसार यो घटना सामन्य होइन। सूचना पाएपछि थप बल नमगाउनु रहस्यमय रहेको उनी बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४