काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि त्यहाँ कार्यरत प्रहरी भागेका छन्। आइतबार राति १२ बजे ३० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा प्रयास गरेपछि त्यहाँ कार्यरत सातजना प्रहरी हतियार बोकेर सुरक्षितस्थल तर्फ गएको स्थानीयले बताए।
विप्लवका कार्यकर्ता रातभर प्रहरी चौकीमा बसेका थिए। सोमबार बिहानै उनीहरू संखुवासभातर्फ लागेका थिए। प्रहरी चौकीमा अहिले सुरक्षा निकायको कब्जामा रहेको सुरक्षा स्रोतले जनाएको छ। स्रोतले भन्यो, ‘जिल्लामा सर्च अप्रेसन तीव्र पारिएको छ।’
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले भने यसको खण्डन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले घटनाबारे अहिल्यै केही भन्न नसकिन बताइन्। उनले भनिन्, ‘समाचारमा आएजस्तो कव्जा प्रयास भएको छैन । अनुसन्धान भइरहेको छ।’
प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले घटना पुष्टि नभएको बताए। उनले भने, ‘पहाडी जिल्लामा सर्च अपरेसन भइरहेको छ। सोलुखुम्बुमा कुनै भिडन्त, आगजनी वा गोली हानाहान भएको छैन। त्यस्तो भएको जानकारी छैन।’
सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा रहेको उक्त दुर्गम गाउँमा मोटरबाटो पुगेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४