काठमाडौं - सत्तारूढ दल नेकपाका सांसद नवराज सिलवालले सरकारले सडक सुरक्षामा ध्यान दिन नसकेको आरोप लगाएका छन्। सिलवालले सोमबार संघीय संसद्मा बोल्दै काठमाडौंको नागढुंगा–कलंकी सडक खण्डमा दैनिक सडक दुर्घटना बढ्दै गएको र सडक सुरक्षामा सरकारको ध्यान नपुगेको आरोप लगाएका हुन्।
उनले भने, ‘अव्यवस्थित सडक प्रयोगका कारण उपत्यकामा मात्र हप्तामा ६–७ जनाले ज्यान गुमाइरहेका छन्। यो भयावह अवस्था हो। यसतर्फ सरकारले ध्यान जाओस्।’
सिलवालले गृह मन्त्रालयले समेत सडक सुरक्षामा ध्यान दिन नसकेको आरोप लगाए।
आइतबार ललितपुर सानेपामा भएको दुर्घटनामा दुईजनाले ज्यान गुमाएका थिए। काठमाडौं सीतापाइलाका ४७ वर्षीय युवराज भुसालले चलाएको बा १६ च ४७४३ नम्बरको स्कारपियो जिपले स्कुटरलाई ठक्कर दिँदा नुवाकोटका २७ चन्द्रमणि मडुभरी र ललितपुरका गोविन्द शर्माको घटनास्थलमै ज्यान गएको थियो।
गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक २२ सय बढीले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४