सुनसरी- धरानमा फैलिएको डेङ्गु ज्वरोको प्रकोप नियन्त्रण बाहिर गएको छ । स्थानीय स्तरबाट भएको प्रयासले डेङ्गु नियन्त्रण गर्न नसकिएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ ।
पछिल्लो तीन सातामा मात्रै धरानमा डेङ्गुका बिमारीको सङ्ख्या ७५ पुगेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरी ७५ पुगेको हो ।
धरान उपमहानगरपालिका र बिपी प्रतिष्ठानले बनाएको संयुक्त र्यापिड रेस्पोन्स टिमले प्रत्येक घरमा पुगेर घरको अवस्था निरीक्षण गर्दा डेङ्गु सङ्क्रमित लामखेट्टेको अण्डा र लार्भा अत्यधिक पाइएको जनाएको छ । धरानमा डेङ्गु नियन्त्रणबाहिर रहेको चिकित्सकहरुले ठहर गरेका छन् । निरीक्षणबाट डेङ्गुको बिमारीको सङ्ख्या नियन्त्रणबाहिर रहने बताइएको छ ।
रेस्पोन्स टिमले वडा नं ५, १४, १ र १५ मा केहीका घरमा पुगेर हेर्दा जमेको पानी, जम्मा गरेर राखेको पानी र ट्याङकीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौँको सङ्ख्यामा भेटेको रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनालले जानकारी दिए ।
उनीहरुले घरघरमा पुगेर जमेको पानी, प्रयोगका लागि जम्मा गरेर राखेको पानीमा डेङ्गुको बासस्थान हुने जानकारी गराउँदै अण्डा र लार्भा नष्ट गर्ने तरिका सिकाउनुभएको थियो । यता बिमारीको चाप बढेपछि प्रतिष्ठानमा श्यया अभाव भएको छ ।
हाल प्रतिष्ठानमा मेडिसिन वार्डमा बिरामी राखेर उपचार भइरहेको र उनीहरुको उपचारका लागि छुट्टै वार्ड बनाउने तयारी भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए ।
डेङ्गुको महामारी अत्यधिक बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँलाई थप अनुसन्धान तथा नियन्त्रणका लागि पत्राचार गरिएको अस्पताल निर्देशक साहले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४