काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
केहिले नेकपा भित्र सत्ता परिवर्तन र महाधिवेशनका विषयले चर्चा पाएको विषयलाई मुख्य समाचार बनाएका छन् भने केहिले समयमा काम नसकिएका १८ सय सार्वजनिक निर्माणको ठेक्का सरकारले भंग गर्न लागेको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको नागरिक दैनिकले सत्तारुढ दल नेकपा भित्र आलोपालो सरकार चलाउने विषयसँगै महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको विषयलाई मुख्य समाचार बनाएको छ ।
पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलता देखिएको छ ।
केन्द्रीय समिति र स्थायी समितिमा अजेन्डा प्रवेश नगराईकन पार्टी अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहालले जिल्ला समिति गठनको एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि महाधिवेशन हुने बताएपछि पार्टीभित्र तरंग फैलिएको छ।
दाहालको अभिव्यक्तिपछि पार्टीमा महाधिवेशनताका हुने बहस अहिलेबाटै सुरु भएको छ। अधिवेशन र महाधिवेशनको पक्ष र विपक्षमा अभिव्यक्ति आउन थालेका छन्। यसमा सचिवालय सदस्य ईश्वर पोखरेल अग्रपंक्तिमा देखिएका छन्। पार्टीका अर्का नेता वामदेव गौतमले पनि महाधिवेशनको चर्चालाई साथ दिन थालिसकेको समाचारमा उल्लेख छ ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले किन बोले दाहाल शीर्षकमा खबर लेखेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारका विषयमा गरिएको सहमति कार्यान्व्यनको माग गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत जानै लाग्दा प्रचण्डले यस्तो माग उठाउनुलाई कतिपयले ‘दीर्घकालीन महत्व र रणनीतिका विषयमा’ ओलीसँग कुनै सहमति÷सम्झौता वा कुराकानी नगर्न भारतको सत्तारोहणको तयारीमा रहेको नेतृत्वलाई सतर्क गराएको रुपमा लिएको अन्नपूर्णले टिप्पणी लेखेको छ ।
कान्तिपुर दैनिकले भने जिम्मेवारी बाँडफाँटमा नेकपा भित्र देखिएको रस्साकस्सी र आइतबार दुई अध्यक्षबीच भएको भेटलाई एङ्कर न्यूज बनाएको छ । प्रचण्डले आलोपालो सरकारको विषय उठाएपछि आइतबार पहिलो पल्ट दुई अध्यक्षबीच छलफल भएको हो।
कान्तिपुरले सरकारले समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग गर्न लागेको विषयलाई मुख्य समाचार बनाएको छ ।
छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । संशोधित नियमावली वैशाख ३० देखि लागू भइसकेको छ ।
अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बाँकी ठेक्काका विषयमा अध्ययन भइरहेको उनले बताए । म्याद थप नहुने ठेक्का स्वतः खारेजीमा जाने समाचारमा उल्लेख छ ।
नयाँ पत्रिकाले भने रोयल्टीका लागि सगरमाथामा जथाभावि आरोहण गर्न दिदा सगरमाथाको साख गिरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
यस वर्ष विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ ।
यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् । सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेको समाचारमा जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४