काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली ९ दिने औपचारिक भ्रमणका लागि युरोप जाने भएका छन्। आगामी २५ गते प्रधानमन्त्री ओलीसहितको टोली जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार जानकारी दिए।
प्रधानमन्त्री ओलीले २६ गते जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सवमा सम्बोधन गर्नेछन्। यसैगरी २७ गते लन्डन गएर अक्सफोर्ड विश्वविद्यालयको एक कार्यक्रममा नेपालको विकासलगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
लन्डनमा रहँदा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग ओलीको राजनीतिक भेटवार्ता हुनेछ । भेटमा द्विपक्षीय सम्बन्ध, नेपालको विकास प्रक्रियामा बेलायतले गर्दै आएको सहयोग र पूर्वगोर्खा सैनिकका विषयमा वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली २९ गते फ्रान्सतर्फ प्रस्थान गर्नेछन् । उनी नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यसैगरी ओलीले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री असार १ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४