वीरगन्ज- पछिल्लो केही समययता पर्सा जिल्लामा युवाले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ। सामान्य र समाधान खोज्न सकिने विषयमा समेत उत्तेजित भएर तत्कालै मृत्युको बाटो रोज्ने प्रवृत्ति बढ्दै गएकोमा समाजका अगुवा चिन्तित छन्।
केही महिनायता किशोरसहित पाँच जनाले आत्महत्या गरेका छन्। थप दुई जना आत्महत्याको प्रयास असफल भएको छ। गत माघमा वीरगन्जमा कक्षा ११ मा अध्ययनरत दुईजना छात्रा सीमावर्ती भारतीय सहर रक्सौल नजिकै श्रीपञ्चमीको दिन रेल मार्गमा मृत फेला परे। पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीकी १७ वर्षीया निभाकुमारी साह र वडा नं ३ हरिहरपुरकी किरणकुमारी चौरसियाले गुडिरहेको रेलअगाडि उभिएर आत्महत्या गरेका थिए। उनीहरुमध्ये निभाको नौ दिनपछि बिहेको टीकाटालो गर्ने तय भएको थियो।
सरस्वतीपूजाको अघिल्लो दिन अभिभावकसँग ‘ट्युसन फी’ लिएपछि सदरमुकामस्थित डेरा घरमा फर्किएका ती किशोरीले डेराघरमै ‘सुसाइड नोट’ छोडेर बाहिरिएका थिए। दुवै किशोरी आत्महत्याको लागि मानसिक रुपमा तयार हुँदासम्म पनि परिवार वा आफन्तले उनीहरुको मानसिक अवस्थाबारे सुइँको समेत पाउन सकेनन्।
पर्साकै जिराभवानी गापा–४ का दुई युवती र एक युवकले सामूहिक रुपमा विष सेवन गर्दा एकजना युवतीको मृत्यु भएको छ। एक युवकसहित दुई जनाको उपचार जारी छ। भागी बिहे गर्ने तयारीस्वरुप घरबाट भागे पनि आफूहरुलाई सघाउने चारजना साथीलाई गाउँलेले नियन्त्रणमा लिएपछि आवेशमा आउँदै उनीहरुले विषसेवन गरी आत्महत्या प्रयास गरेका हुन्।
११ फागुनमा सेढवा गाउँमा दलित परिवारकी किशोरी लालसाकुमारी बिनले झुन्डिएर आत्महत्या गरिन्। अभिभावकले बिहेको कुरा छिनोफानो गर्न टीकाटालो गर्ने तयारी गरिरहेका बेला अप्रत्यासित रुपमा आत्महत्याको घटना भयो।
दलित परिवारका अभिभावकले दाइजोको जोहो गर्न नसक्ने भएकोले लालसाले आत्महत्याको विकल्प रोजेको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीलाई जानकारी नै नदिई उनका अभिभावकले शव जलाउने प्रयास गरेपछि घटनाको थप पाटो खुल्न बाँकी रहेको अनुमान गर्न सकिन्छ।
प्रहरी अनुसन्धानका क्रममा यी घटनामध्ये अधिकांशमा युवा युवतीबीच प्रेम सम्बन्धलाई अभिभावकले अस्वीकार गरेको वा त्यसबारे बिल्कुलै बेखबर भएकोले मागी बिहे गरिदिने तयारी गरिरहेको अवस्था मुख्य कारकका रुपमा देखा परेको छ। ‘मागी बिहे’ बाट हुने सम्बन्धप्रति असहमत युवायुवतीले झुन्डिएर वा विष सेवन गरेर आत्महत्या आत्महत्या गरेका हुन्।
यी प्रतिनिधि घटनामा घटनाक्रम यति तीव्र गतिमा विकसित भएको हुन्छ कि अभिभावकले सामान्य छनकसमेत पाउन सकेका छैनन्।
यहाँका युवा पुस्ताबीच लोकप्रिय सहप्राध्यापक डा. दीपक शाक्यको बुझाइमा युवा पुस्ताको ऊर्जा सदुपयोग हुन नसक्दा अप्रत्यासित घटनाहरु भइरहेका छन्। ‘बाहिरी खेलकुद र शारीरिक मानसिक परिश्रम गर्न पाएका छैनन्’, डा. शाक्य भन्छन्। मोबाइलकै संसारमा केन्द्रित हुँदा घरपरिवार साथीभाइसँग अन्तरंग बिल्कुल बन्द छ, यस्तो अवस्थामा कुनै विद्यार्थीको मानसिकतामा के खेलिरहेको भेउ पाउनै मुस्किल हुन्छ।
अधिकांश समय हातमा मोबाइल फोन बोकेर ‘भचुर्अल वल्र्ड’ (मायावी दुनियाँ) मै एकोहोरो रमाउने पुस्ताले साथीभाइ, अभिभावक वा आफन्तजनसँग अन्तरक्रिया गर्ने र घुलमिल गर्ने अभ्यास अत्यन्तै न्यून हुँदै गएको छ। मनोभावनालाई परिवारका सदस्यसँग साट्ने भन्दा पनि सोसल मिडियामा फेला पर्ने अन्जानसँग बढी आत्मीय अनुभूति गर्ने तन्नेरी पुस्तामा मानसिक समस्या देखिएको छ।
सामाजिक अभियन्ता दिलीप कार्की सञ्चारको आधुनिक युगमा जन्मिएका युवा पुस्ता र परम्परागत सोचाइ बोकेका अभिभावकबीचको मतभिन्नताले परिवारमा विचलन निम्त्याएको बताउँछन्।
‘भर्चुअल वल्र्ड’ मा रमाइरहेको युवा पुस्ताको मानसिकतालाई सामान्य ग्रामीण परिवेशमा हुर्किएका अधिकांश अभिभावकले बुझ्दैनन् वा बुझेर पनि नबुझेझैं गरेर दबाउन खोज्छन्। कार्कीले भने, ‘यो अवस्थामा कम्प्रोमाइज (सम्झौता) गर्न तयार हुने युवा निक्कै कम हुन्छन्। त्यसैले तत्कालै आवेगमा आएर मृत्युको बाटो रोज्ने गरेको देखिएको छ।’
सुरक्षा अधिकारीहरु नयाँ पुस्तामा तनाव सहन नसक्ने र आत्मबल कमजोर हुने प्रवृत्ति झ्याँङ्गिदै गएको बताउँछन्। ‘युवा पुस्ताको आत्मबल कमजोर हुँदै गएको संकेत हो यो’, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्तराम शर्माले भने, ‘एकोहोरो हुने, घुलमिल नगर्ने प्रवृत्ति युवा वर्गमा विकसित हुँदै गएकाले यस्तो अप्रत्यासित घटना देखापर्न थालेको छ।’
आत्महत्या निरुत्साहित गर्न युवा र अभिभावकमाझ सचेतना अभियान सञ्चालनको आवश्यकता महसुस गरिएको छ। डा. शाक्य तन्नेरी पुस्ताको बदलिंदो आकांक्षा सम्बोधन गर्दै रिक्रियसका लागि गन्तव्य र गतिविधि दुबै उपलब्ध गराउनुपर्ने सुझाउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४