काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताएका छन्। पार्टीको रौतहट–काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उनले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए।
‘अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले पूरा गरे पनि जनताले किन काङ्ग्रेसलाई विश्वास गर्न सकेन’, उनले भने। पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताए। पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उनको भनाइ थियो।
उनले पार्टीलाई सङ्घीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गरे। पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले सङ्घीयता कमजोर पार्न खोजेको आरोप लगाए। सरकारले भर्खरै प्रस्तुत गरेको बजेट सङ्घीयता मजबुत बनाउने खालको नभएको उनको जिकिर छ।
कांग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरासियाले पार्टीलाई बलियो बनाउन पार्टीले विधानको पालना गर्नुपर्ने बताए। जागरण अभियानलाई गाउँ गाउँसम्म लैजानुपर्ने उनको भनाइ थियो। उनले वर्तमान सरकार जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए। कांग्रेस रौतहटका सभापति कृष्ण यादवले कांग्रेस नेतृत्वले जागरण अभियानमार्फत आएका सुझावलाई आत्मासाथ गरेर अगाडि बढेमात्र भविष्यमा कांग्रेसको सङ्गठन बलियो हुने उल्लेख गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४