काठमाडौं - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ। शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्याउँदा शनिबार बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पाभन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का ३८ वर्षीया बुद्धि कार्कीको गत बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो। लेक लागेर बिरामी पर्नेको सङ्ख्या बड्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ।
एक महीना अघिमात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुईजनाले ज्यान गुमाएका थिए। गत वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४