इटहरी – नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीमा जलयात्रा गराउने व्यवसायीहरुले सरकारले बजेटमा आन्तरिक जलयात्रा विकासको कुरा समेटेपनि आफूहरु पीडित भएको बताएका छन्।
२०७४ चैतबाट सप्तकोशीमा जेटबोट संचालनमा ल्याएको बराहक्षेत्र जलयातायात तथा पर्यटन प्रालीका अध्यक्ष बिमलमान श्रेष्ठले जलया

तायातलाई जन्मदै निमोठ्ने काम भएको बताए। ‘सडकमा गुड्ने सवारी साधानहरुमा भ्याट लाग्दैन, आकासमा उड्ने हवाइजहाजहरुमा पनि लाग्दैन तर जलयात्रा गराउने जेटबोटहरमा भने भ्याट लाग्छ’, श्रेष्ठले प्रश्न गरे, ‘उड्ने र गुड्नेमा भ्याट नलाग्ने, जलयातायातमा चाहीं लाग्ने?’
जेटबोटलाइ भन्सार, भ्याट देखि स्थानीय सरकारलेसमेत करले कसेको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘हाम्रो जेटबोटको बेस भएको बराहक्षेत्र नगरपालिकाले वार्षिक ३ लाख लिने कुरा गरेर ढाड सेक्ने प्रयास भएको छ।’
२०७५ चैत १६ गतेबाट नेपालमै बनेको माउन्ट ८८४८ नामक जेटबोट संचालनमा ल्याउने सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालीका संचालक राजेन्द्र कार्कीले पनि जलयातायातमा सरकारले धेरै चासो नदिएको बताए। करोडौँ लागत परेपनि स्वामित्व नभएको कार्कीले बताए। ‘हामीले कम्तिमा तीन करोडको लागानीमा राम्रो जेटबोट प्याकेज ल्याउछौँ र जलयात्रा गराउँछौ तर यसको ओनरसिप बुक हामीसँग छैन’, कार्कीले भने, ‘जबकी सामान्य बाइक देखि अटो किन्दा पनि ओनरसिप बुक पाइन्छ।’
जेटबोटमा चालक अनुमति पत्रको व्यवस्था, दर्ता र नियमनको आधिकारीक सरकारी निकाय समेत नभएको भन्दै कार्कीले बैंकीङ सुविधाहरु समेत जलयातायातमा नभएको बताए। उनले भने, ‘नेपालमा पानीजहाज कार्यालय खोलीएको छ। यसले पानीजहाज मात्रै हैन आन्तरिक जल यातायातको क्षेत्रमा काम गरोस्।’
नेपालमा जलयात्राका साधन थोरै भित्रिने हुनाले यसमा भन्सार शुल्क पनि छुट दिनुपर्ने कार्कीको भनाइ छ। सरकारले लिँदै आएको १५ प्रतिसतबाट घटाएर १० मा झारेपनि यो मात्रै काफी नभएको भन्दै कार्कीले भने, ‘पर्यटन देखि पारवाहन क्षेत्रमा जलयात्राले धेरै सघाउ पुर्याएकोले यसमा सुरुमै कडाइ हुनुहुँदैन।’
२०६६ सालबाट संचालनमा आएको बरुण वाटरवेज प्रालीका व्यवस्थापक शंकर कार्कीले जेटबोटमा धेरैको आकर्षण भएपनि लगानी र पूर्वाधार अभावमा समस्या भएको बताए। सरकारले बुधबार ल्याएको बजेटले कोशीमा जलयात्रा बारेमा पनि बोलेकोले केही आशा भने जगाएको कार्कीले बताए। उनले भने, ‘सरकारले केही नगर्दा पनी केही भएको थियो अब बजेटमै कुरा आएपछि केही हुने आशा पलाएको छ।’
सप्तकोशीको जलयात्राको इतिहास
सप्तकोशीमा साहसिक पर्यटकीय खेल र्याफ्टिङको इतिहास पुरानो छ। व्यवसायिक जलयात्राको ट्राफलको इतिहास पनि आधा शताब्दी लामो छ। सन् १९६८ मा सगरमाथाका प्रथम आरोही एडमन्ड हिलारीले आफ्ना साथी जोन ह्यामिल्टनसँगै सप्तकोशीमा पहिलो जलयत्राको सफल ट्रायल गरेका थिए। उनले सुनसरीको चतरा देखि काभ्रेपलान्चोकको दोलालघाटसम्मको १७५ किलोमिटरको यात्रा गरेका थिए। आइडी भिन्टेज नामक एक क्यानेडेलि संस्थाले अपलोड गरेको युट्युब भिडियोमा हिलारीको सप्तकोशीको जलयात्राको भिडियो अझै देख्न सकिन्छ।
आधा सताब्दी अगाडि १७५ किलोमिटरको दुरिमा जलयात्रा भएको सप्तकोशीमा हाल भने १५ किलोमिटर हाराहारीमा मात्रै हुन्छ। सुनसरीको चतरा र उदयपुरको बेलका क्षेत्रबाट हाल भोजपुरको हलेदेसम्म मात्रै जलयात्रा संचालन हुँदै आएको छ। हाल सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली र बरुण वाटरवेजले व्यवसायिक जलयात्राको सेवा दिइरहेका छन्।
प्रदेश १ का मुख्यमन्त्रीले सप्तकोशीको जलयात्रालाई संखुवासभाको तुम्लीङटार र काभ्रेपलान्चोकको दोलालघाटसम्म ल्याउने बताउँदै आएका छन्। २०७५ पुष १ गते आफ्नो चुनावक्षेत्र दक्षिणी भोजपुरको हतुवागढी गाँउपालिका ९ हसनपुरमा एक कार्यक्रममा जेटबोटबाटै गएपछि मुख्यमन्त्रीले यस्तो बताएका थिए।
मुख्यमन्त्रीको आश्वासनलाई पुरा गर्न वर्षातको समयमा पनि जेटबोट चल्ने खालको पूर्वाधार बनाउनु पर्ने व्यवसायी बिमलमान श्रेष्ठले बताए। श्रेष्ठकाअनुसार अरुण नदीका ठाउँठाउँमा भएका ढुंगा र ढिस्काहरु हटाएमा तुम्लिङटार र सुनकोशीका त्यस्तै अवरोध हटाएमा दोलालघाटसम्म ३० सिटे जेटबोट सहजै चल्छन्। ‘अहिले हामीले प्राकृतिक रुपमा सहज भएको १५ किलोमिटर क्षेत्रमा जलयात्रा गराउँदै आएका छौँ’, श्रेष्ठले भने, ‘अब सरकारले ढुंगा र ढिस्का हटाउने र आवश्यक पूर्वाधार बनाएमा लामो दुरिसम्म सहजै संचालन गर्न सक्छौं।’