काठमाडौं – केही वर्षदेखि सरकारले सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई पोशाक अनिवार्य लगाउनुपर्ने भन्दै रकम दिएको भए पनि यहाँका अधिकांश विद्यालयका शिक्षकले हालसम्म पोशाक लगाएका छैनन्।
जिल्ला शिक्षा कार्यलयबाट शिक्षकले पोशाक खरिदबापत रकम बुझेका भए पनि उनीहरु पोशाक लगाएर विद्यालय जाने गरेका छैनन्। पोशाक खरिदका लागि जिल्लाका स्थायी शिक्षकलाई रकम वितरण गरेको थियो। पोशाक खरिदका लागि रकम बुझेर पोशाक नलगाउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कुनै प्रकारको निरीक्षण तथा अनुगमन नगरेका कारण पोशाक नलगाएको एक शिक्षकले बताए।
गतवर्ष पोशाक खरिदका लागि जिल्ला शिक्षा कार्यलयले रकम दिएको भए पनि कुन रङको पोशाक लगाउने भन्ने कुरा नभनेकाले अलमलमा परेर पोशाक नलगाएको शिक्षकहरुले बताएका छन्। पोशाक नै नतोकी रकम दिएका कारण शिक्षकहरुले पोशाक नलगाएको उनीहरुको भनाइ छ। यस वर्षसमेत शिक्षकका लागि पोशाक भत्ता आएको भए पनि स्थायी बाहेकका शिक्षकले समेत आफूहरुलाई पनि पोशाक भत्ता चाहिने भन्दै विरोध जनाएका छन्।
शिक्षा विभागले गत वर्ष मुलकभरका प्राथमिक तहका ६३ हजार ४८, निमावितर्फका ११ हजार २४९ र माध्यमिक तहका नौ हजार ४२ शिक्षकलाई गरी कूल रु ६२ करोड ५० हजार पोशाक भत्ता वितरण गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४