काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि निगरानी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजालले बजेटमाथि धारणा सार्वजनिक गरेका छन्।
विभिन्न अर्थविद्सँगको परामर्श पछि प्रमुख प्रतिपक्षी दलले बजेटको समीक्षा गरेको छ।
उक्त समिक्षा तथा कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा छाया सरकारका अर्थमन्त्री रिजालले अहिलेको बजेटलाई मिठाई बाँडेको संज्ञा दिएका छन्। सबैलाई खुशी पार्न थोरै थोरै सबैतिर मिठाई बाँडेको उनको भनाई छ।
रिजालले कांग्रेसलाई पनि खुसी पार्न बीपी कोइरालाको कार्यक्रमलाई समावेश गरेको दाबी गरे।
सरकारले ल्याएको बजेट सञ्चालन गर्न सक्ने क्षमता नरहेको टिप्पणी गर्दै रिजालले भने,‘दुई तिहाईको सरकार लाग्दैन, दुई तिहाईको सरकार यस्तो बजेट ल्याउँदैन। बजेट खर्च गर्न सक्ने क्षमता छैन। बजेटमा भनिएको कुरा कार्यान्वयन गर्न बलियो ताकत हुनुपर्ने हो।’
रिजालले अहिलेको बजेट पनि कांग्रेसकै पुरानो बजेटलाई 'मोडिफाई' गरी ल्याइएको दाबी गरे। ‘अहिले कांग्रेसले देखेको सपनामा बुटा भर्ने कुरा हो। नयाँ योजना यो हो भनेर ठोकेर भनेको छैन।’, रिजालले भने।
उनले कांग्रेसले सुरु गरेको योजना यो सरकारले पुरा गरोस् भन्ने चाहना रहेको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४