जनकपुरधाम- महोत्तरीबाट एक जनप्रतिनिधि घुससहित पक्राउ परेका छन्। महोत्तरीको एकडारा गाउँपालिका–४ का राजपाबाट निर्वाचित वडासदस्य रामचन्द्र राय यादव घुससहित शुक्रबार बिहान पक्राउ परेका हुन्।
यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३६ हजार घुस रकमसहित पक्राउ गरेको हो। यादवले वडामा निर्माधीन एक योजनाका लागि ठेकेदारसँग घुस मागेका थिए। ठेकेदारसँग कमिसन रकम माग गरेको सूचनाको आधारमा बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडासदस्य यादवलाई रकमसहित पक्राउ गरेको छ। यादवलाई जलेश्वरबाट पक्राउ गरिएको बताइएको छ।
यादवलाई आवश्यक कारबाहीका लागि अख्तियारले बर्दिवासस्थित कार्यालय लगेको छ। केहि दिनअघि सप्तरीबाट एकजना वडाअध्यक्षलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४