भैरहवा - पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा आमूल परिवर्तन, सामाजिक, आर्थिक, औद्योगिक क्रान्ति तथा रुपान्तरण हुने कुनै संकेत नदेखिएको टिप्पणी गरेका छन्।
डा. भट्टराईले भैरहवामा पत्रकारसँग भने, ‘पोहर साल र अहिले जुन दुईवटा बजेट बन्यो। कम से कम यो बजेटबाट देशमा आमूल आर्थिक क्रान्तिको वातावरण बन्ला, गरिबीको कारण दैनिक रुपमा विदेसिन बाध्य लाखौं बेरोजगार युवालाई स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्ला भन्ने सोचेको थिएँ। तर केही भएन।’
उनले सरकार संविधानको भावना र मर्मविपरीत चलेको समेत आरोप लगाएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत स्थानीय र प्रदेश सरकारको अधिकार कटौती गरेर पुनः केन्द्रीकृत सत्ता सञ्चालनको अभ्यास गरिएको भन्दै डा. भट्टराईले त्यसले देशलाई नोक्सानीतर्फ लैजाने पनि बताए।
तपाईंहरु सत्तापक्ष कि प्रतिपक्ष भन्ने प्रश्नमा डा. भट्टराईले भने, ‘तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भए तापनि अहिले हामी सरकारको गुण र दोषको आधारमा समर्थन र आलोचना गर्छौं।’ उनले आफ्नो पार्टी वर्तमान सरकारको सःसर्त एक घटक भएको प्रस्ट्याए।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपालले भैरहवामा आयोजना गरेको कार्यकता प्रशिक्षणमा उपेन्द्र यादवसहित भैरहवा आएका डा. भट्टराईले स्थानीय सरकार र प्रदेश सरकारले गाडी सुविधा लिए भनेर धेरै आलोचना गर्नु ठीक नभएको बताए। उनले भने, ‘हिजो अर्बौं रकम लुट्नेको हामी हिसाबकिताब खोज्दैनौं तर आवश्यकताअनुसार लिएको सुविधाको विरोध गर्नुको कुनै अर्थ छैन। बरु त्यसको सदुपयोग र दुरुपयोगको विषयमा ख्याल भने गर्नुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४